भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले उद्योगी व्यवसायीलाई मर्का पर्ने गरी कर नलगाइने बताएकी छन् । उद्योग वाणिज्य संघ–चितवनले बुधबार आयोजना गरेको भरतपुर महानगरका जनप्रतिनिधिलाई सम्मान तथा महानगरको समृद्धिमा निजी क्षेत्रको भूमिका विषयक छलफल कार्यक्रममा सहभागी दाहालले सो कुरा बताएकी हुन् ।

महानगरले करको दर नबढाई दायरा बढाउने तयारीमा रहेको उनले बताइन् । करबाहिर रहेका उद्योगी व्यवसायीलाई करको दायरामा ल्याउन निजी क्षेत्रले सहयोग गर्नुपर्ने उनको भनाइ छ । करको दर र दायराको विषयमा पहिलो कार्यकालमा पनि महानगर र संघबीच संस्थागत सम्झौता भएको उनले बताइन् ।

विशेषगरी, घर बहाल कर उठाउने विषयमा उनले संघसँग सहयोग मागिन् । ‘भरतपुरले निजी क्षेत्रसँगको सहकार्यमा नमुना काम गरेको छ’, उनले भनिन्, ‘योजना तर्जुमा गर्दा होस् वा नीति तथा कार्यक्रम बनाउँदा, बजेट बनाउँदा पनि उद्योग वाणिज्य संघसहितका निजी क्षेत्रसँग सहकार्य गर्दै आएका छौँ ।’

‘मेड इन भरतपुर’लाई ब्रान्डिङ गर्ने नीति लिइएको भन्दै उनले समृद्धिका लागि महानगर र निजी क्षेत्र एकै सिक्काका दुई पाटा भएको बताइन् । अटोल्यान्ड निर्माणका लागि डिपिआर स्वीकृत भइसकेर अब इआइए हुन बाँकी रहेको उनको भनाइ छ । सार्वजनिक जग्गा प्रयोग गरेर नाफा कमाउने उद्देश्यले सटरलगायतका संरचना बनाउनेलाई कडाइ गरिने उनले बताइन् ।

भरतपुरमा फोहोर व्यवस्थापनका लागि निजी क्षेत्रलाई प्रस्ताव गर्ने महानगरको बुधबार बसेको नगर कार्यपालिकाको बैठकले निर्णय पनि गरेको छ । महानगरका उपमेयर चित्रसेन अधिकारीले उद्योगी व्यवसायीको सुझावकै आधारमा महानगरले कतिपय निर्णय गर्ने गरेको बताए । निजी क्षेत्रलाई प्रोत्साहन गर्न संघमा आबद्ध उद्योगी व्यवसायीले तिरेको वार्षिक करको ५ प्रतिशत रकम फिर्ता लिने व्यवस्थालाई निरन्तरता दिइएको उनले बताए ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सहनलाल प्रधानले स्थानीतस्तरमा विकासका लागि संघ र महानगरबीचको सहकार्य यथेष्ट रहनुपर्ने बताए । कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले निजी क्षेत्रको सहकार्यमा सुरू भएका योजनालाई अघि बढाउनुपर्ने र सहकार्यलाई मजबुत बनाउँदै जानुपर्ने बताएका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनको विकासमा जोड दिएमा चितवन देशकै नमुना जिल्ला बन्न सक्ने कुरा बताए ।

पूर्वअध्यक्ष रमेशकुमार पियाले स्थानीय सरकार र उद्योग वाणिज्य संघ–चितवनबीच पहिल्यैदेखि सहकार्य हुँदै आएकोले अब आउने दिनमा व्यवसायीकरमा सहकार्य गरी अगाडि बढ्न सुझाव दिए ।

त्यसैगरी, पूर्वअध्यक्ष सहनलाल प्रधानले भरतपुर महानगर देशकै केन्द्रबिन्दु रहेकाले उद्योगी व्यवसायीहरुलाई सहज वातावरण सृजना गर्न सकेमा महानगरको समृद्धि हुनुका साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा जुट्नसमेत अपिल गरे ।

विशिष्ट अतिथि तथा भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले भरतपुर महानगरको विकास निर्माण एवं कर राजस्वको विषयमा निजी क्षेत्रको सल्लाह र सुझावअनुसार नै निर्धारण गरिने बताए ।

उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले स्वागत तथा धन्यवाद गरेको कार्यक्रमलाई उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक नीलबहादुर केसीले सञ्चालन गरेका थिए । उद्योग वाणिज्य संघ–चितवनका पूर्वअध्यक्षहरु, संघका पदाधिकारीहरु, कार्यसमिति र वस्तुगत संघका अध्यक्ष एवं पदाधिकारीको उपस्थिति रहेको कार्यक्रमको उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !