चितवनः भरतपुर अस्पतालका एक जना चिकित्सकलाई अस्पतालले कारवाही गरेको छ । गत आईतबार बिहान “भरतपुर अस्पतालः २४ घण्टासम्म ‘ड्युटीका चिकित्सक राउण्ड’मा नजाँदा…” शीर्षकको समाचार प्रकाशित भएपछि अस्पताल प्रशासनले डियूटिमा नजाने चिकित्सकलाई कारवाही गरेको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार सो दिन डियूटीमा रहेका डा.ऋतुराज तिवारीलाई कारवाही गरिएको हो । तत्कालै तपाईँलाई कारवाही किन नगर्ने ? भनी स्पष्टिकरण लिईएकोमा चित्तबुझ्दो जवाफ नआएपछि बुधबार निज तिवारीको करार भंग गरिएको पौडेलले जानकारी दिनुभयो ।

विगत तीन वर्षदेखि अस्पताल विकास समितिको दरबन्दीमा रहेर कार्यरत तिवारीको करार भंग गरिएको हो । निज तिवारीले मेडिकल वार्ड, बृद्धबृद्धा वार्ड र क्वाविनमा रहेका बिरामीको गएको शनिबार बिहान परीक्षणमा गएको भए पनि साँझ नगएपछि बिरामीका कुरुवाले गुनासो गरेका थिए । तत्कालै समाचार प्रकाशित भएपछि प्रमुख पौडेल र प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले सम्बद्ध चिकित्सकलाई कारवाही गरिने बताउनु भएको थियो ।

भरतपुर अस्पताल संघीय अस्पताल हो । यहाँ ६०० शैया रहेका छन् । चितवन सहित २१ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । चिकित्सक कर्मचारीले आफ्नो जिम्मेवारी पूरा नगरिदिंदा बिरामी र आफन्तले हैरानी व्यहोर्नु पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !