चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १६ ले सुत्केरी पशुको बिबरण माग गरेको छ । एक सूचना जारी गर्दै वडा भित्र रहेका सुत्केरी पशुहरुको बिबरण माग गरेको हो । सुत्केरी पशुको लागि पोषण भत्ताका लागि बिबरण संकलन गर्न लागिएको हो ।
सुत्केरी पशुलाई पोषणा भत्ता स्वरुप रु एक हजार उपलव्ध गराउनका लागि तथ्याङ्क संकलन गर्न लागिएको वडाका कार्यवहाक अध्यक्ष मिन बहादुर लामाले जानकारी दिनुभयो । तथ्याङ्क संकलनका लागि वडा सदस्यहरुलाई जिम्मेवारी दिईएको छ । साबिक मंगलपुर गाउँबिकास समितिको वडा नम्बर ,७ र ८ का जनताले कार्यवहाक वडा अध्यक्ष लामालाई र ५,६ र ९ का जनताले वडा सदस्य बिष्णु प्रसाद दवडीलाई सुत्केरी पशुको बिबरण बुझाउन सूचनामा उल्लेख छ ।
बिबरण बुझाउँदा निबेदन, सुत्केरी पशुको फोटो, सुत्केरी पशुको घरधनीको नागरिकताको फोटोकपी आबश्यक पर्ने सूचनामा जनाईएको छ । यो पोषण भक्ता गाई र भैसीमा मात्रै लागु हुने कार्यालयले जनाएको छ । यस्तै सोही वडाले सुत्केरी महिलाको पोषणका लागि तथ्याङ्क संकलन सुरु गरेको छ । सुत्केरी महिलाका लागि रु १ हजार ५ सय पोषण भत्ता उपलव्ध गराउन तथ्याङ्क संकलन गर्न लागिएको हो ।
भरतपुर महानगरपालिकाको कृषि तथा पशुपंछी व्यवसाय प्रबर्धन शाखाका प्रमुख मेघराज ढकालले महानगरले सुत्केरी पशु पोषणमा कुनै बजेट बिनियोजन नगरेको बताउनुभयो । वडा कार्यलयहरुले आफ्नो आबश्यकता अनुसार कार्यक्रम राखेको हुन सक्ने उहाँले बताउनुभयो ।






