चितवनः जिल्लामा चालु आर्थिक वर्षमा औलोको बिरामी बढेका छन् । गत आर्थिक वर्षमा एक जनामा औलो रोग देखिएकोमा यस बर्ष दश जनामा देखिएको कार्यालयले जनाएको छ ।
जिल्लाका अस्पतालहरुमा उपचारका क्रममा आएका बिरामी मध्ये ११ जनामा औलो रोग देखिएको थियो । ती मध्ये एक जना गैंडाकोट नगरपालिकाका रहेका छन् । स्वास्थ्य कार्यालय चितवनकी औलो रोग सम्पर्क व्यक्ति उर्मिला आचार्यका अनुसार भाइभाक्स, फाल्सीपारम, मलेरी, ओवाले, नोलेसी मध्ये कुनै एक परजीवी सङ्क्रमीत एनोफीलीज जातको पोथी लामखुट्टेले टोक्दा औलो रोग सर्ने गर्दछ ।
ती परजीवी मध्ये फाल्सीपारम सबैभन्दा डरलाग्दो हुने उहाँले जानकारी दिनुभयो । बिश्वमा चार सय जातका एनोफिलीज जातका लामखुट्टे पाईने भए पनि ६० जातमा मात्रै औलोको परजीवि प्रमाणित भएको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षमा कोरोनाका कारण लकडाउन हुँदा मानिस घरबाट बाहिर ननिस्कनु, पानी कम परेकाले बिरामीको संख्या कम भएको उहाँले बताउनुभयो । यस वर्ष नियमित जसो पानी पर्नु र मानिसको चहलपहल बढ्नुले औलोको सङ्क्रमण बढ्ेको उहाँले जानकारी दिनुभयो ।
औलो हुँदा लगातार वा दिन बिराई कामज्वरो आउनु, चेतनामा परिवर्तन आउनु अथवा बेहोस हुनु, कम्जोर हुनु वा उठबस गर्न नसक्नु, खान नसक्नु, धेरै कम्पन हुनु, गहिरो स्वास लिनु लगाएतका लक्षण देखा पर्ने गर्दछ । यस रोगबाट बच्न पानीका खाल्डाखुल्डी पुर्नु पर्ने, झुलको प्रयोग नियमीत गनर्नुपर्ने, संकास्पद देखिए तत्काल चिकित्सकको परामर्शमा जानु औलोबाट बच्ने मुख्य उपाय रहेको कार्यालयले जनाएको छ । नेपाललाई सन् २०२६ सम्म औलो मुक्त बनाउने घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !