चितवनः भरतपुरको पटिहानीमा रु १ अर्बको लगानीमा निर्माणको अन्तिम चरणमा पुगेको पटिहानी रिसोर्टको व्यवस्थापन सोल्टीले गर्ने भएको छ । पटिहानी रिसोर्ट निर्माण गरेको रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रा.लि र सोल्टी समुहको व्यवस्थापन बिच रिसोर्ट सञ्चालनका बिषयमा आज सहमती भएको हो ।
सहमती संगै सोल्टी वेस्ट इन्ड रिसोर्ट पटिहानीका नाममा भदौ १ गतेबाट होटल सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २२ राप्ती नदी तटीय क्षेत्रमा यो होटल रहेको छ । पाँचतारे सुबिधा दिनेगरि यो रिसोर्ट नेपालका २३ जना व्यवसायीको लगानीमा निर्माण गरिएको हो । रिसोर्ट सञ्चालन समितिका अध्यक्ष कल्याण जोशीका अनुसार अब होटलको व्यवस्थापन सोल्टीले गर्ने छ ।
रिसोर्टमा दश अत्याधुनिक भिल्ला छन् । यी बाहेक दुई स्विइट भिल्लामा पौडीपोखरीसमेत रहेको छ । रिसोर्टमा ५२ कोठा छन् । ५ सय जना अट्ने एउटा , १५० जना अट्ने दुई वटा, ७५ जना अट्ने तीनवटा र २५ जना अट्ने दुईवटा हल समेत छन् । रेष्टुरेन्टमा एकपटकमा ३ सय जनाले बसेर खान सक्ने सुविधा छ । छुट्टै २५० जना अट्ने सुविधासम्पन्न बार पनि छ । यस संगै हेल्थक्लब रहने छ ।
बगैँचा र पौडीपोखरी पार्टीका लागि व्यवस्थित बनाइएको छ । पाँच बिघा जमिनमा निर्मित रिसोर्टको बीचबाट सार्वजनिक बाटो भएकाले बाटोमुनिबाट आवतजावतका लागि अण्डरपासको व्यवस्थासमेत गरिएको छ । विदेशी पर्यटकलाई लक्ष्य गरी बनाइएको रिसोर्ट नजिकै हात्ती चढेर सामुदायिक वन घुम्ने सुविधा छ ।
टाढैबाट हेर्दा आकर्षक देखिने न्यूजिल्याण्डको टायल डेक्क्राको छानो होटलमा छ । धेरै जमिन भएकाले तरकारी, फलफूल आफै उत्पादन गरिने छ । यहाँ आउने पर्यटक हात्ती चढेर सामुदायिक वन घुम्ने, निकुञ्जभित्र जीप सफारी, पैदल यात्रा गर्ने, गाडीमा सफारी गर्ने, राप्ती नदीमा डुंगा सय गर्ने, थारु कला संस्कृतिमा रमाउने गर्न सकिने उहाँको भनाई छ ।
यससँगै पर्यटकका लागि थारु जातिको परम्परागत परिकार चिचर, घोगी, हाँस खाएर रमाउन पाउने उहाँले बताउनुभयो । सोल्टी होटल समुहका उपाध्यक्ष सुदर्शन चापागाईले सम्झौता संगै अब चितवनमा सोल्टीको व्यवस्थापनमा होटल सञ्चालन हुने बताउनुभयो । नेपालमा बिदेशी व्यवस्थापन समुहले ठूला होटलहरु हेरी रहेका छन् । स्वदेशी व्यवस्थापनमा सोल्टी समुहले आफ्नो अनुभवलाई उपयोग गरेर उत्कृष्ठ व्यवस्थापन गर्न सक्ने उहाँ बताउनुहुन्छ ।
बिगत ५६ वर्ष देखिको सोल्टी समुहको नेपाली अनुभवलाई उपयोग गर्दै आफ्नो व्यवसायीक क्षमता बृद्धि गरेर उच्च स्तरको व्यवस्थापकिय सेवा दिन सक्ने सोल्टी समुहको दाबी छ । सोल्टीले काठमाडौं र नेपालगञ्जमा आफ्नै होटल सञ्चालन गर्दै आएको छ भने इटहरी र चितवनमा व्यवस्थापन गर्ने भएको हो ।






