चितवनः कृषि तथा वन विज्ञान विश्व विद्यालयको पाँचौ अनुसन्धान तथा प्रसार परिषद्को बैठकले विश्वविद्यालयले गर्ने अनुसन्धानका प्राथमिकताका क्षेत्रहरुको छनोट गरेको छ । कृषि क्षेत्रको अनुसन्धानमा यो विश्वविद्यालय अग्रणी मानिन्छ ।

बैठकले वातावरण परिवर्तनका कारणले कृषि क्षेत्रमा परेको असर, गहुँ र धानको नयाँ जातको विकास, पशुपालनको क्षेत्रमा बाख्राको नयाँ जातको विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर अनुसन्धान गर्ने गरी निर्णय गरेको हो । विश्वविद्यालयका अनुसन्धान निर्देशक तथा परिषद् सदस्यसचिव प्रा.डा.अर्जुनकुमार श्रेष्ठका अनुसार विश्वविद्यालयले हालसम्म बाह्य र आन्तरिक सहयोगमा ३१५ भन्दा बढी अनुसन्धान सम्पन्न गरेको र ११५ वटा जारी रहेको बताउनुभयो ।

आउँदो वर्षका लागि विश्वविद्यालयका प्राध्यापकहरुलाई निर्देशनालयको आन्तरिक स्रोतबाट छोटो र लामो अवधिका ३७ वटा अनुसन्धान परियोजनाहरु स्वीकृतिको चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।

बैठकको छलफलबाट अनुसन्धानका विषयगत क्षेत्रहरु आवश्यक संशोधन सहित पारित गर्ने निर्णय गरेको छ । अनुसन्धानका नैतिक पक्षलाई दृष्टिगत गरी विश्वविद्यालयको संस्थागत समीक्षा बोर्डद्वारा पारित विधि र प्रक्रियाबाट अनुमोदन गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

सोही अवसरमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको जर्नलको पाँचौ अंकको विश्वविद्यालयका उपकुलपति प्रा. डा. पुण्यप्रसाद रेग्मी, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का उपकुलपति तथा परिषद्का सदस्य डा. सुनिल बाबु श्रेष्ठ, विश्वविद्यालय सेवा आयोगको कार्यालयका अध्यक्ष प्रा. डा. कल्याणी मिश्र र विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शारदा थपलियाद्वारा संयुक्त रुपमा विमोचन गरिएको थियो ।

बैठकमा माटो सुहाउँदो र किसानको आवश्यतालाई सम्बोधन गर्ने प्रविधिको विकासको लक्ष्य राखी विश्वविद्यालयको पूर्ण आर्थिक स्वामित्वमा संचालन भैरहेका दुई दीर्घकालीन परियोजनाहरुको प्रस्तुति रहेको थियो । यस अन्तर्गत भैसीमा देखिने सीमित सिजनमा मात्र बाली लाग्ने परिस्थितिलाई उल्टाई सबैजसो सिजनमा बाली लगाउन सकिने बनाइ वर्षभरि नै दुधको माग परिपूर्ति गर्न अहिलेसम्म गरिएका प्रयासहरुको बारेमा जानकारी गराईएको थियो । स्नातकोत्तर कार्यक्रम निर्देशनालयका निर्देशक तथा सो परियोजनाका प्रमुख अनुसन्धानकर्ता डा. भूमिनन्द देवकोटाले सो बारेमा जानकारी गराउनु भएको थियो ।

गहुँको सुधार परियोजनाअन्तर्गतप्रतिकुल मौसममा पनि राम्रो प्रतिफल दिन सक्ने जातहरुको विकासका साथै अहिलेसम्म भएका उपलब्धीहरुको बारेमा उक्त परियोजनाका प्रमुख अनुसन्धानकर्ता प्रा. डा. माधव प्रसाद पाण्डेयले जानकारी गराउनु भएको थियो । वन विज्ञानका क्षेत्रका चुनौतीका साथ–साथै भइरहेका कार्यहरु र भावी योजनाहरुको बारेमा उप–प्राध्यापक हरि भट्टाराईले जानकारी गराउनु भएको थियो ।

बैठकमा नास्का उपकुलपति श्रेष्ठले विश्वविद्यालयले गर्दै आएका कार्यहरुको सराहना गर्दै निकट भविष्यमा विश्वविद्यालयसँग सहकार्यमा अनुसन्धानका कार्यहरु संचालन गरिने बताउनुभयो ।

नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक तथा परिषद् सदस्य डा. दिपक भण्डारीले विश्वविद्यालयका साथै अनुसन्धानका क्षेत्रमा क्रियाशील विभिन्न संस्थाहरुको समन्वयमा एकै प्रकारको अनुसन्धान बारम्बार दोहिरिन नदिनका लागि आवश्यक पहल चाल्नु पर्ने कुरामा ध्यानाकर्षण गराउनुभयो ।

कृषि विभागका महानिर्देशक तथा परिषद् सदस्य डा. रेवती रमण पौडेलले अनुसन्धानका दयाराहरुलाई निर्दिष्ट गरी वार्षिक कार्ययोजना बनाइ प्रगतिको समीक्षा गर्दै सबै सरोकारवालाहरु एक भइ अघिबढ्नु पर्नेमा जोड दिनुभयो । पशु सेवा विभागका महानिर्देशक तथा परिषद् सदस्य डा. राम नन्दन तिवारीले पशु सेवाका क्षेत्रमा उत्कृष्ट जनशक्ति उत्पादनमा विश्वविद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

लि–बर्ड नेपालका कार्यकारी निर्देशक डा. बलराम थापाले कृषिका क्षेत्रमा गैर–सरकारी संस्थाहरु पनि अनुसन्धानमा लागेको कुराको जानकारी गराउदै सबै क्षेत्रको समन्वयबाट नै समग्र कृषिको रुपान्तरण गर्न सकिने बताउनुभयो ।

विश्वविद्यालयका उपकुलपति रेग्मी र रजिष्ट्रार थपलियाले विश्वविद्यालयले अनुसन्धानमा गरेका उपलब्धीका बारेमा चर्चा गर्दै समस्याहरुका बारेमा अवगत गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !