चितवन:स्थानीय तहको निर्बाचन सकिएको एक महिना बितिसक्दा पनि जिल्लामा रहेका राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुले खर्च बिबरण बुझाएका छैनन् । जिल्ला निर्बाचन कार्यालय चितवनका अनुसार १ हजार ९५० जना उम्मेदवार मध्ये ४११ जना उम्मेदवारले मात्र खर्च बिबरण बुझाएका छन् ।
कार्यालयका प्रमुख भिमसेन कार्कीका अनुसार भरतपुर महानगरपालिकाका १२२ जनाले मात्र खर्च बिबरण बुझाएका छन् महानगरमा ५३५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । यस्तै रत्ननगर नगरपालिकामा ४०६ जना उम्मेदवार मध्ये ७६ जना, खैरहनी नगरपालिकामा २८४ जना मध्ये ८ जनाले मात्रै खर्च बिबरण बुझाएको उहाँले जानकारी दिनुभयो । राप्ती नगरपालिकाका २६१ जना उम्मेदवार मध्ये १० जना, कालिका नगरपािलकाका २१३ जना उम्मेदवार मध्ये ६६ जना, माडी नगरपालिकाका १५७ जना मध्ये १२५ जना र इच्छाकामना गाउँपालिकाका ९४ जना उम्मेदवार मध्ये ४ जनाले मात्र खर्च बिबरण बुझाएका छन् ।
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत २ हजार २७२ जनाले उम्मेदवारी दर्ता गरेकोमा ३३२ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । स्थानीय तह निर्वाचन नियमावली ४० को अनुसुचि ३० बमोजिम निर्बाचनको अन्तिम मत परिणाम आएको ३० दिन भित्र उम्मेदवारले खर्च बिबरण बुझाउनु पर्ने हुन्छ । बिबरण नबुझाउने उम्मेदवारलाई आयोगले संघिय कानुन अनुसार जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको कार्कीले जानकारी दिनुभयो । नियमाबली अनुसार महानगर प्रमुख र उपप्रमुखले रु ७ लाख ५० हजार, वडा अध्यक्ष र सदस्यले रु ३ लाख ५० हजार खर्च गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।
यस्तै नगरपालिकाका प्रमुख र उपप्रमुखले रु ४ लाख ५० हजार, वडा अध्यक्ष र सदस्यले रु २ लाख ५० हजार, गाउँपालिका प्रमुख र उपप्रमुखले रु ३ लाख ५० हजार वडा अध्यक्ष र सदस्यले रु १ लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस !