माडी । चितवनको माडीमा तीन दिनदेखि विद्युत् सेवा अवरूद्ध भएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गरिएको अन्डरग्राउन्ड विद्युत्को तारमा समस्या भएपछि मंगलबार बिहानदेखि विद्युत् अवरूद्ध भएको हो ।
नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख इन्जिनियर शिशिर लम्सालका अनुसार चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको भूमिगत लाइनमा समस्या आएका कारण लाइन अवरूद्घ भएको र लगातर पानी परिरहेको, केबुल गएको रूटमा पानीमात्रै भएकाले फल्ट पत्ता लगाउन गाह्रो भएको थियो । तर, बिहीबार मौसम राम्रै भएकाले चनौली–जगतपुर–माडी प्रसारणलाइनअन्तर्गत निकुञ्जभित्रको भूमिगत खण्डमा रहेको फल्ट पत्ता लागेको छ ।
विद्युत् प्राधिकरणको दुई दिनको प्रयासपछि बिहीबार दिउँसोको समयमा चितवन राष्ट्रिय निकुञ्जभित्र देउराली डाँडानजिकमा फल्ट पत्ता लागेको हो । वितरण केन्द्रका प्रमुख ई. शिशिर लम्सालसहितको प्राविधिक टोलीले जंगलभित्र केबुल काटेर फल्ट एलोकेटर मेसिनको सहयोगमा फल्ट पत्ता लगाएकोमा त्यसको मर्मत प्रक्रिया सुरू भएको छ ।
निकुञ्जभित्रको भूमिगत बिजुली प्रसारणलाइनमा समस्या आएर बिजुली अवरूद्ध रहँदा माडीका प्रशासनिक, शैक्षिक, व्यावसायिक, आमसञ्चार, इन्टरनेटसँगै आमजनजीवन नै प्रभावित बनेको छ ।





