चितवनः नेपालको मध्यभागमा रहेको विकास गतिमा तीब्र अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडा अध्यक्षहरु योजना लिएर प्रमुख समक्ष पुगेपछि महानगरको आन्तरिक, प्रदेश वा संघ मध्ये जहाँबाट भए पनि स्रोत सुनिश्चित गरेर योजना लिएर मात्रै फर्किन्छन् ।

गएको पाँच वर्षमा सम्भवतः संघ र प्रदेशबाट सबैभन्दा बढी बजेट भित्र्याउन सफल हुने महानगरपालिकामा भरतपुर पर्दछ । भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र पनि पर्दछ । महानगर प्रमुख माओवादीकै केन्द्रीय सदस्य रेनु दाहाल हुनुहुन्छ । निरन्तर विकास निर्माणमा लागिरहने दाहालको प्रयासकै कारण भरतपुरले विकासमा गति लिएको हो ।

त्यसो त भरतपुर महानगरपालिकाले प्रत्येक वर्ष पूर्व प्रधानमन्त्री, मुख्य मन्त्री, संघ र प्रदेशका मन्त्रीहरु, सचिवहरु, महानिर्देशकहरु, राष्ट्रिय योजना आयोग लगायतका विकाससँग सम्बन्धित व्यक्तित्वहरुलाई ल्याएर छलफल गर्ने गरेको छ । छलफलमा विगत वर्षहरुका समीक्षा गर्दै आगामी वर्षका योजनाहरु र जनभावनाको समेत कदर हुने गरेको छ । जसका कारण विकासका सरोकार राख्ने निकायका जिम्मेवार व्यक्तिहरु बजेट दिन हिच्किचाउँदैनन् ।

पर्याप्त बजेट ल्याउने र त्यसलाई समुचित बाँडफाँड र सदुपयोग गरेकै कारण प्रत्येक वर्ष भरतपुर आउने बजेट बढ्दै गएको छ । वडा अध्यक्षका योजनाको सुनुवाई गर्ने कुरामा दलीय विभेद दाहालबाट भएको छैन ।

भरतपुर महानगरपालिका वडा नं. २ का निवर्तमान अध्यक्ष एवं नेकपा एमाले जिल्ला कमिटी चितवनका सदस्य पूर्णबहादुर श्रेष्ठ आफ्नो कार्यकालभरी महानगरमा लगेका योजना कुनै पनि नफर्किएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “प्रमुख दाहालले मैले लगेका कुनै योजना फर्काउनु भएन ।” आफ्नो पाँच वर्षे कार्यकालमा वडामा झण्डै रु.४५ करोडको काम भएको उहाँको भनाई छ ।

त्यसो त महानगरकाले वडाका लागि विभाजन गरेको वार्षिक रकम रु.१ करोड ५ लाखदेखि शुरु भएर पाँचौं वर्ष पुग्दै गर्दा रु.१ करोड ७० लाखसम्म पुगेको थियो । यद्यपी यसबाहेक उपयुक्त योजना वडाबाट लगेपछि फिर्ता हुन नपरेको श्रेष्ठको भनाई छ । नेकपा एमाले निर्वाचन २ (ख) का सहसंयोजक समेत रहनु भएका श्रेष्ठले प्रमुख दाहालले कहिल्यै पनि योजना बाँडफाँडमा पूर्वाग्रह नगरेको बताउनुभयो ।

भरतपुर महानगरपालिका वडा नं. ८ का निवर्तमान अध्यक्ष एवं जिल्लाका कांग्रेस नेता दामोदर न्यौपानेले वडाबाट निर्णय भएर गएका सबै योजना प्रमुख दाहालले सदर गरेर बजेट निकासा गराएको बताउनुभयो । उहाँले भन्नुभयो “हाम्रो वडामा मात्रै पछिल्लो एक वर्षमा रु.२० करोडभन्दा बढी काम हामीले ग¥यौं ।” वडा अध्यक्षले काम गर्न सक्छु भनेपछि कुनै पनि योजना दाहालले फिर्ता नगरेको उहाँको अनुभव छ । न्यौपानेले थप्नुभयो “काम गर्न सक्छु भन्ने वडा अध्यक्षका लागि दाहालले कहिल्यै बजेट अभाव हुन दिनु भएन ।”

वडा नं. २२ का अध्यक्ष एवं नेकपा एकीकृत समाजवादीका महानगर अध्यक्ष विष्णुराज महतो दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ । उहाँको भनाईमा वडाअध्यक्षका धेरै चाहना हुने भए पनि अधिकांशजसो सम्बोधन गर्ने काममा दाहाल सकारात्मक हुनुहुन्छ । महानगरको बजेटभन्दा प्रदेश र संघबाट धेरै बजेट ल्याएर वडाहरुमा विकासका काम भएको महतोको भनाई छ । पटिहानी क्षेत्रमा पर्ने उक्त वडामा सडक, खेलकुदसँगै पर्यटन क्षेत्रमा धेरै विकास निर्माण भएका छन् ।

महानगर प्रमुख दाहाल आफ्नो अघिल्लो कार्यकालमा वडाअध्यक्षहरुले ल्याएका कुनै योजना फिर्ता गर्नु नपरेको बताउनुहुन्छ । केही वडाअध्यक्षहरुले योजना नल्याएपछि आफैले फोन गरेर योजना ल्याउन लगाएर काम गरेको उहाँको भनाई छ । त्यस्ता एकाध वडाअध्यक्ष बाहेक अधिकांशले महत्वपूर्ण योजनाहरु ल्याएर काम गरेको उहाँ बताउनुहुन्छ । दाहालले भन्नुभयो “वडाअध्यक्षज्यूहरुको माग अनुसार आयोजनाका लागि बजेट उपलब्ध गराउन सकियो ।” आफूले राजनीतिक दलको नेताको हिसाबले नभएर समान दृष्टिकोणबाट न्यायोचित बजेट वितरण गरेको उहाँको भनाई छ । उहाँले थप्नुभयो “यसमा मलाई गर्व छ ।”

महानगरभित्रका सडकसँगै भौतिक पूर्वाधारहरुको अवस्था जोकोहीले पनि देख्न सक्ने उहाँले बताउनुभयो । कोही एक व्यक्तिले महत्वपूर्ण आयोजना लिएर आउँदा समेत आफूले सम्बोधन गर्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “मैले व्यक्ति र टोल सुधार समितिसँग पनि आयोजना माग गरेर सम्बोधन गरेको छु ।” आफ्नो दोस्रो कार्यकालमा सर्वाधिक मतका साथ विजयी हुनुको प्रमुख कारण विकास निर्माण भएको उहाँको बुझाई छ । उहाँले आफ्नो पाँच वर्षको अवधिमा महानगरबाट रु.२० अर्बभन्दा बढीको काम गर्दैगर्दा प्रदेश र संघबाट रु.४५ अर्बभन्दा बढी बजेट ल्याउन सफल भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !