चितवनः जिल्लाको खेति योग्य जमिन मध्ये ७३ प्रतिशत जमिनमा सिचाई पुगेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई चितवनले धान दिवसको आबसरमा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।
कार्यालयका सूचना अधिकारी माधब पौडेलका अनुसार जिल्लाको कुल क्षेत्रफल मध्ये १७ दशमलब ५८ प्रतिशत खेतीयोग्य जमिन रहेको छ । १ लाख २१ हजार ८ सय हेक्टर क्षेत्रफल मध्ये ३३ हजार ८३६ हेक्टर क्षेत्रफल खेति योग्य रहेको रहेको उहाँले बताउनुभयो । धान उत्पादनका दृष्ट्रिकोणले नेपाल बिश्वको १७ औं स्थानमा रहेको र चितवन नेपालको उर्वर जिल्ला मध्येको एक भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा ३० हजार ५ सय हेक्टर क्षेत्रफलमा वर्षे र चैते धान खेती हुने गरेको छ ।
जिल्लामा बिशेषगरी साबित्री धान लगाईने गरिन्छ । त्यस पछि सावा मसुली, सावा १, स्वर्ण सव १, रामधान, हर्दिनाथ १, हर्दिनाथ ३, चैते ५, बहुगुणी १, शुखाधान ३ लगाउने गरिन्छ । गत ४ वर्षमा चैते धानको उत्पादकत्व २० प्रतिशत बढेको पौडेलले जानकारी दिनुभयो । धानको उत्पादन बृद्धिका लागि गुणस्तरीय मल, उन्नत बीउ, भरपर्दो सिचाई सुबिधा तथा उपयुक्त प्राबिधिक सेवा सुनिश्चितता तथा रोजगारीको अबसरहरुको सिर्जना गर्न धान क्षेत्रलाई उद्योगसंग आबद्ध गरी आत्मनिर्भरता र समृद्धि हाँसिल गर्ने राष्ट्रिय आकांक्षलाई हाँसिल गर्न तीनै तहका सरकारहरुबाट रणनैतिक प्रयासको सुरुवात भईरहेको उहाँले जानकारी दिनुभयो ।
असार १४ गते सम्म जिल्लामा २५ प्रतिशत धान रोपाई सम्पन्न भएको कृषि ज्ञानकेन्द्रका प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार पूर्बी चितवनमा ४५ प्रतिशत, पश्चिम चितवनमा ५ प्रतिशत र माडीमा २० प्रतिशत धान रोपाई सम्पन्न भएको छ । धान रोपाई सुरु भएको भए पनि अहिले वजारमा युरिया मलको अभाव कायमै रहेको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख धन वहादुर थापाले जिल्लाको कृषिमा आधुनिकिकरणको सुरुवात भएको बताउनुभयो । पछिल्लो सयम कृषकहरुले जनशक्ति कम प्रयोग हुने हुँदा आधुनिक औजारहरु प्रयोग गर्न थालेको उहाँले बताउनुभयो ।






