चितवनः चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडीयाल प्रजनन् केन्द्रमा गोहीका ४ सय ९६ बच्चा कोरलिएका छन् । नारायणी र राप्ती नदि किनारमा संकलन गरिएका ५ सय ६३ वटा अण्डाबाट ती बच्चा कोरलिएका हुन ।
यही बैशाख १० गतेबाट १३ गते सम्म ती दुई नदिमा अण्डा संकलन गरिएको थियो । निकुञ्जभित्र रहेको गोही प्रजनन् केन्द्र हेर्दै आएका सरोजमणि पौडेलका अनुसार राप्तीका १० गुड र नारायणीका ६ गुडबाट अण्डा संकलन गरिएको हो । असार पहिलो साताबाट बच्चा कोरलिन थालेका हुन । संकलन भएका अण्डा मध्ये २० वटालाई इन्कुभेटरमा राखिएकोमा १४ वटा बच्चा निस्किएका थिए । बाँकी बालुवामा राखिएको पौडेलले बताउनुभयो ।
राप्ती नदीमा ६ वटा र नारायणीमा ५ वटा गुँण छाडिएका थिए । ती मध्ये राप्तीको खोरसोर नजिक दुधौरामा १ सय १० वटा बच्चा देखिएको छ । नारायणीमा पनि बच्चा देखिएको उहाँले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो “एकिन तथ्याङ्क त आएको छैन । हाम्रो अनुमानमा २ सय भन्दा वढि गोहीको बच्चा प्रकृतिमा रहेका छन् ।” प्रकृतिमा संकलन गरेको गोहीको अण्डाबाट यति धेरै बच्चा कोरलिएको सम्भबत यो पहिलो भएको पौडेल बताउनुहुन्छ ।
गत वर्ष प्रकृतिमा संकलन गरिएका ४ सय ३६ अण्डाबाट २ सय ५८ वटा बच्चा कोरलिएका थिए । प्रजनन् केन्द्रमा रहेका गोहीबाट यो वर्ष हाल सम्म बच्चा कोरलिएको छैन । गएका दुई वर्ष प्रजनन् केन्द्रमा माउँले अण्डा पारेको भए पनि बच्चा कोरलिएको थिएन । पौडेलको भनाईमा यस वर्ष पनि ७÷८ वटा गुँण देखिए पनि बच्चा कोरलिएको छैन । यो वर्ष समेत सम्भावना घटेर गएको छ । प्रजनन् केन्द्रमा एउटा भाले र ठूला १२ वटा पोथी रहेका छन् । भाले ४३ वर्षको हो भने पोथी ४० वर्ष हाराहारीको हो । प्रजनन् हुन नसकेका कारण बच्चा नकोरलिएको अनुमान छ ।प्रजनन् केन्द्रमा ती सहित ५ सय ३१ साना गोही रहेका छन् ।
राप्ती र नारायणी नदीमा पाँच ओटा भाले गोही देखिएका छन्। नदीमा भाले गोही नदेखिएपछि केही वर्षअघि बबईबाट एउटा भाले ल्याइएको थियो । राप्ती र नारायणी नदीमा अण्डा संकलन गरी बच्चा कोरलेर हुर्काएर नदीमा छोड्ने गरिएको छ ।
हालसम्म राप्ती, नारायणी, कोसी र बबई नदीमा एक हजार ६९२ गोही छाडिसकिएको छ। निकुञ्जले विसं २०३५ मा गोही प्रजनन् केन्द्र स्थापना गरी प्रजनन् केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ। हरेक वर्ष बाढिले बगाएर गोही भारत पु¥याउने गर्दछ । यध्यपी संरक्षण कार्यलाई निकुञ्जले निरन्तरता दिएको छ ।
राप्ती नदी गोहीका लागि राम्रो मानिएको छ । नदी किनारमा बसोबास गर्नेहरुले माछा मार्ने क्रममा ठूला जाल हान्दा अड्कीएर गोही मर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभयो । अनुमती पत्र लिएकाहरुलाई हाते जाल प्रयोग गर्न दिईएको भए पनि ठूला तिहारी जाल प्रयोग गर्दा गोही अड्कीएर मर्ने गरेको उहाँ बताउनुहुन्छ । बिगतमा नारायणी नदीको देवघाट सम्म गोही पाईने गर्दथ्यो । नदी प्रदुशीत बन्दै गए पछि गोहीको संख्या घट्दै गएको आचार्यको भनाई छ । उहाँले भन्नुभयो “हामी सबैले संरक्षणमा ध्यान दिन सकेमा गोहीको संख्या बढाउन सकिन्छ ।”
नदी प्रदुशषण रोक्न, जथाभाबि नदी जन्य पदार्थ उत्खनन् नगर्न र ठूला जाल प्रयोग नगर्न आचार्यको सुझाब रहेको छ । अहिले प्रजनन् भएका गोहीका बच्चा केन्द्रमा राखेर ५ वर्ष कटे पछि नदीमा छाडीने छ । चालु आर्थिक वर्षमा १ सय ७ गोही नारायणी, कोशी र राप्ती नदीमा छाडीएको छ । नारायणी र कोशीमा २०÷२० वटा गोही छाडीएको हो भने अरु गोही राप्तीमा छोडीएको हो ।






