चितवनः भरतपुरमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १८ गुञ्जनगर माध्यमिक विद्यालयको प्राङगणमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो ।
प्रमुख दाहालले राष्ट्रपति रनिङ शिल्ड दक्ष खेलाडी उत्पादनको माध्यम भएको बताउनुभयो । रनिङ शिल्डले भरतपुरमा दक्ष खेलाडी उत्पादन गर्ने वातावरण पनि सिर्जना भइरहेको दाहालको भनाई थियो ।
भरतपुरलाई खेलकुद हबका रुपमा बिकास गर्ने उद्देश्यसहित विभिन्न पूर्वाधार बनाउने कार्य भइरहेको समेत प्रमुख दाहालले जानकारी दिनुभयो । एक वडा एक खेल मैदान, एक विद्यालय एक खेल मैदान, नगरस्तरीय खेल मैदान, प्रदेश स्तरीय खेलमैदान तथा अन्तर्राष्ट्रिय खेलमैदान निर्माण भइरहेको उहाँको भनाई थियो ।
उपप्रमुख चित्रसेन अधिकारीले कोभिड–१९ का कारण विद्यालय बन्द हुँदा ३ वर्षदेखि भरतपुरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुन नसक्दा खेलाडी उत्पादन हुन नसकेको बताउनुभयो । खेल क्षेत्रबाट राज्यलाई चिनाउन यस्ता प्रतियोगिताहरु आबश्यक रहेको उहाँको भनाई थियो ।
प्रतियोगितामा भलिबल, कबडी, एथलेटिक्स गरी ३ विधाका खेल हुने भरतपुर शिक्षा महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले बताउनुभयो । प्रतियोगितामा भरतपुरका सामुदायीक र निजी गरी ५० वटा विद्यालयको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो । बढ्दो गर्मीका कारण प्रतियोगिताहरु बिहानको समयमा गरिने छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई प्रदेश हुँदै संघमा प्रतिशपर्धाका लागि पठाइने छ ।

प्रतिक्रिया दिनुहोस !