चितवनः भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । असार १० गते शुक्रबार महानगरपालिकाको परिषद हुँदै छ ।
चालु आर्थिक वर्षको बजेट रु ४ अर्ब ८५ करोड रहेको थियो । एक अर्ब भन्दा बढि बजेट आउँदो वर्षका लागि थप गरिन लागेको हो । महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार बजेट अन्तिम तयारीमा रहेको छ । उहाँले भन्नुभयो “हामी रु ६ अर्ब हाराहारीको बजेट ल्याउँदै छौ ।” बजेट पूर्ब महानगरपालिकाले संघ र प्रदेशका मन्त्री, सचिब, महानिर्देशकहरु संग छलफल र सुझब समेत लिएको थियो । छलफलमा पूर्ब प्रधानमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगाएतका बिशिष्ठ अधिकारीहरु पनि सहभागी रहनु भएको थियो ।
महानगरपालिका प्रमुख रेनु दाहालले बजेटले उत्पादन, रोजगारी, कृषि, शिक्षा, स्वास्थ्य लगाएतको क्षेत्रमा जोड दिईएको बताउनुभयो । गएका ५ वर्ष भौतिक पूर्बाधार अन्तर्गत सडकमा जोड दिएको महानगरपालिकाले आउँदो वजेटमा भौतिक पूर्बाधार अन्तर्गत ढलमा बढि जोड दिन लागेको उहाँले जानकारी दिनुभयो । महानगर क्षेत्रलाई सुन्दर बनाउने योजना अघि सारीएको छ । खाल्डा खुल्डी सडकलाई मर्मत सम्भार कार्यलाई प्रथामिकता दिन लागिएको छ ।
बजेटमा शिक्षालाई सिपसंग, सिपलाई उत्पादनसंग र उत्पादनलाई बजारसंग जोडी बजारको माग र आबश्यकताको समेत ख्याल गरि शैक्षिक कार्यक्रम अघि वढाउन लागिएको छ । महानगर भित्रका सबै टोलसुधार समितिहरुलाई टोल सुरक्षा, जनसंख्याको अभिलेख, सडक हरियाली, सडक बत्ति, फोहोर संकलन र रु १ लाख बराबरको टोल सुधार तथा बिबिध मर्मत कार्यक्रमहरुको कार्यबिधि बनाई टोल सुधार समितिहरुलाई शशक्तिकरण गर्ने योजना महानगरको रहेको छ ।
उपप्रमुख चित्रसेन अधिकारीले आन्तरिक आम्दानी वढोत्तरी गर्न कर शिक्षा, कर सचेतना जस्ता कार्यक्रममा टोल सुधार समितिहरुलाई परिचालन गरी करको दायरामा ल्याउन लागिएको बताउनुभयो । सहकारीलाई उत्पादन र बजार संग जोड्न लागिएको छ । चालु आर्थिक वर्षमा आन्तरिक राजस्वको लक्ष्य रु १ अर्ब २५ करोड रहेकोमा आउँदो आर्थिक वर्ष रु १ अर्ब ५० करोड पु¥याउने लक्ष्य राखिएको अधिकारीले बताउनुभयो ।
संघ र प्रदेशको शसर्त बजेट समेत थप भएकाले बजेटको सिलिङ् बढेको अधिकारीले जानकारी दिनुभयो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले संघ, प्रदेशको राजनैतिक र प्रशासनीक शिर्ष व्यक्तित्वहरुका अतिरिक्त जिल्लाका क्षेत्रगत बिज्ञहरुसंग बृहत छलफल गरेर बजेट निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । महानगरकै पहलमा संघ र प्रदेशबाट बिभिन्न आयोजनाहरुमा बजेट परेका छन् । नारायणी नदी तटवन्ध, सिटिहल निर्माण, पुलचोक–गोन्द्राङ ६ लेन सडक निर्माण, चक्रपथ निर्माण जस्ता ठूला आयोजना सञ्चालनमा रहेका छन् । महानगरपालिकाको प्रशासकीय भवन निर्माण सुरु हुन लागेको छ ।
संघ र प्रदेश सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि बजेट बिनियोजन गरि सकेको छ । महानगरपालिका भित्र शिक्षक अस्पताल बन्दै छ । भरतपुर बिमानस्थल बिस्तारको गृहकार्य थालिएको छ भने मेघौली बिमानस्थलमा कालोपत्रे गर्ने तयारी गरिदैं छ । नारायणी नदीमा सिग्नेचार पुल तथा पश्चिम चितवन र नवलपरासी जोड्ने बिभिन्न पुलहरु वनाउने योजना अघि सारीएको छ । महानगरको आन्तरिक वजेट कम भए पनि संघ र प्रदेशको ठूलो रकम यहाँका आयोजनामा परेका छन् । जसका कारण भरतपुर महानगरपालिकाले छोटो समयमा बिकासमा फड्को मारेको छ ।






