चितवनः बर्षाका कारण खस्ने पहिरो तत्काल पन्छाउन सरोकारवाला बिच अन्तर जिल्ला समन्वय बैठक आज यहाँ सम्पन्न भएको छ । चितवन, धादिङ र तनहुँका सुरक्षा निकाय र सडक कार्यालयका प्रमुखहरुका बिचमा बैठक भएको हो ।
पहिरोका कारण लामो समय सडक अबरुद्ध हुने गरेपछि बैठक गरिएको हो । बिभिन्न समयमा जाने पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्बी राजमार्गलाई निरन्तर सञ्चालनका लागि अन्तर जिल्ला समन्वय बैठक गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनुभयो ।
बैठकले तीन जिल्लाका सडकहरुमा सम्भावित जोखिम ठाउँ पहिचान गरेको उहाँले जानकारी दिनुभयो । तामाङ्का अनुसार चितवन तर्फ ५ ठाउँ, धादिङमा ४ ठाउँ र तनहुँमा १ ठाउँ पहिचान गरिएको छ । उहाँले भन्नुभयो “ठाउँ पहिचान भएको स्थानमा यान्त्रीक उपकरण सहित सुरक्षा कर्मी परिचालन गरि तत्काल पहिरो पन्छाउने काम गरिने छ ।” पहिचान भएका स्थानमा असार देखि भदौ सम्म यान्त्रीक उपकरण राखिने छ । त्यहाँ सुरक्षा कर्मी समेत परिचालन गरिने छ ।
पहिरो गए पछि हुने ट्राफिक व्यवस्थापन तीन जिल्लाको समन्वयमा यात्रुहरुलाई गन्तव्यमा सहज रुपले पु¥याउने, अपुग यान्त्रीक उपकरण सडक बिभाग संग माग गर्ने, बिपदको समयमा राजमार्गको सुरक्षा र यात्रुलाई सुरक्षित गन्तव्यमा पु¥याउने र तीनै जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रणका बिषयमा छलफल भई निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीले पहिरोबाट लामो समय हुने गरेको अबरोध हटाउनका लागि बैठक प्रभावकारी हुने अपेक्षा गरिएको बताउनुभयो ।
बैठकमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, नेपाली सेनाका गणपती, शशस्त्र प्रहरी वलका जिल्ला प्रमुख, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख, डिभिजन सडक कार्यालयका प्रमुख, रसौलि बिपद व्यवस्थापन गणका गणपती, नारायणगढ–नागढुङ्गा सडक आयोजनाका प्रमुखको सहभागीता रहेको थियो । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा केहीदिन अघि पहिरो खस्दा चितवनबाट काठमाडौं पुग्न ३० घण्टा सम्म लागेको यात्रुले गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !