चितवनः जिल्लामा रहेका ५ वर्ष देखि १२ वर्ष उमेर समुहका बालबालिकाहरुलाई कोरोना बिरुद्धको खोप सुरु गरिने भएको छ । यही असार ९ गते अर्थात बिहिबारबाट बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयले आज यहाँ पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी खोप अभियान सुरु गर्न लागिएको जनाएको हो । असार ९ गते देखि १८ गते सम्म चल्ने सो अभियान दुई चरणमा बिभाजन गरिएको छ । रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकामा असार ९ गते देखि १४ गते सम्म खोप अभियान सञ्चालन गर्न लागिएको कार्यालयका निमित्त प्रमुख राम केसीले जानकारी दिनुभयो । केसीका अनुसार भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा असार १४ गते देखि १८ गते सम्म अभियान सञ्चालन हुने छ ।
जिल्लामा रहेका ७० हजार ३८२ वालबालिकालाई फाइजर –बायोएनटेक खोप दिईने उहाँले जानकारी दिनुभयो । जस अन्तर्गत भरतपुर महानगरपालिकामा ३१ हजार ४ सय १२ जना, रत्ननगर नगरपालिकामा ८ हजार ३७१ जना, खैरहनी नगरपालिकामा ७ हजार ३५० जना बालबालिकालाई खोप दिईदैछ । यस्तै कालिका नगरपालिकामा ४ हजार १९२ जना, राप्ती नगरपालिकामा ८ हजार ९१४ जना, माडी नगरपालिकामा ५ हजार ३६३ जना र इच्छाकामना गाउँपालिकामा ४ हजार ७८० जना बालबालिकालाई खोप लगाउन लागिएको कार्यालयले जनाएको छ ।
केसीका अनुसार अभियानका लागि ७६ हजार ८ सय डोज खोप जिल्लामा आई सकेको छ । जिल्लामा रहेका ५४० खोप केन्द्र मार्फत बालबालिकालाई खोप लगाईने उहाँले जानकारी दिनुभयो । खोप अभियानमा ९४४ जना स्वास्थ्यकर्मी र १ हजार ३९४ जना स्वयं सेवीका परिचालन हुने उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकामा २१४ वटा, रत्ननगर नगरपालिकामा ५८ वटा, खैरहनी नगरपालिकामा ६२ जना, राप्ती नगरपालिकामा ६४ वटा, कालिका नगरपालिकामा ५३ वटा खोप केन्द्रबाट खोप लगाईदैं छ । माडी नगरपालिकामा ४१ वटा र इच्छाकामना गाउँपालिकामा ४८ वटा खोप केन्द्रबाट बालबालिकालाई खोप दिन लागिएको केसीले जानकारी दिनुभयो ।
हरेक बिद्यालयलाई खोप केन्द्रको रुपमा परिचालन गरिने उहाँले बताउनुभयो । सामुदायीक र संस्थागत बिद्यालयमा खोप खेन्द्र बनाईने छ । दुई सय बालबालिकाका लागि एक जना स्वास्थ्यकर्मी परिचालन गरिने उहाँले जानकारी दिनुभयो । खोप लगाए पछि सामान्य ज्व।ो आउने, टाउको दुख्ने, जीउ दुख्ने लगाएतका लक्ष्यणहरु देखिएमा आत्तिनु पर्ने अबस्था नरहेको कार्यालयले जनाएको छ । गम्भिर प्रकृतिका बिरामी र उच्च ज्वरो आएका बिरामी बालबाललिकाहरुलाई यो खोप दिन नहुने सो अवसरमा जानकारी दिईएको थियो ।
पहिलो पटक खोप लगाएको २१ दिन पछि अर्थात साउन २ गतेबाट दोस्रो डोजको खोप अभियान सुरु गरिने केसीले बताउनुभयो । जिल्लामा हाल सम्म ५ लाख २८ हजार ९२५ जनाले कोभिड १९ बिरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । यस्तै ४ लाख ७० हजार ५७ जनाले दोस्रो मात्रा खोप लगाएको कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार ९३ हजार ४७० जनाले बुष्टर डोज खोप लगाएका छन् । १२ वर्ष देखि माथि १७ वर्ष उमेर समुहका बालबालिका ६० हजार जनाले खोप लगाएको उहाँले बताउनुभयो ।
जिल्लामा हाल सम्म ३३ हजार ५५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जस मध्ये ३३ हजार १०५ जना निको भएर घर फर्किसकेका छन् भने ४४९ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ। अहिले सङ्क्रमितको संख्या शून्य रहेको छ ।





