काठमाडौं: सञ्चारकर्मबाट राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्नुभएको छ । आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उहाँले नयाँ पार्टी घोषणा गरेका हुन् ।
चुनाव चिह्न घण्टी प्रस्ताव गरेका लामिछानेले पार्टी कार्यालय बसुन्धरामा रहने जानकारी पनि दिनुभयो। आगामी चुनावमा कहाँबाट लड्ने भनेर चाहिं उहाँले खुलाउनुभएन । आफूलाई झापा, डडेलधुरा, चितवनबाट चुनाव लड्न मन भएको र त्यहाँबाट चुनाव लड्न नडराएको तर सरकारमा को छन् र उनीहरुले विगतमा गरेको चुनाव हेरेर आफू सचेत रहेको अनुमान गरेको लामिछानेले बताउनुभयो ।
राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा उहाँले पार्टीका सदस्यहरुको सुझावका आधारमा सुझबुझका साथ उम्मेदवारी घोषणा गर्ने बताउनुभयो । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था हुनुपर्ने अवधारणा राख्नुभएका उहाँले आफ्नो पार्टीमा परिवारवाद निषेध र युवा सहभागीता ५० रहने बताउनुभयो । कार्यकर्ताविनाको पार्टी हुने भन्दै उहाँले पार्टीमा उम्मेदवार बन्न पहिले पार्टीभित्रबाट चुनिने व्यवस्था गरिने बताउनुभयो । आफ्नो पार्टीबाट निर्वाचित भएकाहरुले राम्रो काम नगरेमा उनीहरुलाई फिर्ता बोलाइने पनि उहाँले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले कुनै पनि व्यापारिक र व्यावसायिक घरानाबाट चन्दा संकलन नगर्ने घोषणासमेत गरेका छन् । पार्टीका सदस्यबाट उठ्ने रकमबाट पार्टी चलाउने उहाँको भनाई थियो । लामिछानेले व्यापारी व्यवसायीले ढुक्क भएर व्यापार गरेर सरकारलाई नियम अनुसार कर तिरे मात्र पुग्ने बताउनुभयो ।
पार्टी घोषणा कार्यक्रममा कलाकारहरु प्रेमराजा महत, किरण केसी, राजाराम पौडेल लगायत पनि सहभागी थिए ।






