चितवनः भरतपुर महानगरपालिकालाई हरियाली, सुन्दर र लगानीमैत्री शहरको रुपमा बिकास गरिने भएको छ । पहिलो कार्यकालमा भौतिक पूर्बाधारमा बढि जोड दिनु भएकी प्रमुख रेनु दाहालले दोस्रो पटक निर्बाचित भए संगै भौतिक संगै सुन्दर शहर बनाउने योजना अघि सार्नुभएको हो ।
महानगरका शहरी क्षेत्रमा भौतिक निर्माणका काम भइरहेका छन् । ती काम संगै हरियाली र सुन्दरतामा जोड दिने उहाँको भनाई छ । नेपालकै नमुना शहर वनाउने परिकल्पना आँफुसंग रहेको भन्दै उहाँले बाहिरबाट आउने जो कोहीका लागि पनि फरक पन दिन सक्ने गरी काम अघि वढाउन लागिएको बताउनुभयो । महानगर भित्र लगानी गर्ने बातावरणको सृजना गरिदैं छ । उहाँले भन्नुभयो “अब हामी लगानी मैत्री बातावरण बनाएर रोजगारीको सृजना गर्दै छौ ।”
मेडिकल सिटी गुणस्तरीय शिक्षाको हव तथा दिगो विकासमैत्री पूर्वाधारको शहरका रुपमा विकास गरी देशका स्थानीय तहहरुको आदर्श बेञ्चमार्कको रुपमा स्थापित गर्ने सपना र योजना रहेको दाहाल बताउनुहुन्छ । महानगरपालिकाले आफ्नो प्राथमिकतामा व्यवस्थित ढल विकास सञ्जाल निर्माण, राप्ती तथा नारायणी नदीको तटबन्धको पूर्णता, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्णता, भरतपुर बिमानस्थलको विस्तार, महानगरपालिकको प्रशासकीय भवन निर्माण, नारायणीमा सिग्नेचर पुल तथा पश्चिम चितवन र नवलपरासी जोड्ने पक्की पुललाई राखिएको छ । शीत भण्डार निर्माण, राप्ती तटबन्ध, आकाशे पुल, ट्राफिक लाइट, स्मार्ट सडक बत्ती जडान, अटो ल्यान्ड निर्माण, नगरस्तरीय पार्क, देवनगर विद्युतिय सवस्टेशन लाइन निर्माण,व्यवस्थित पशुवधशाला लगायत गौरवका परियोजनाहरुको समयमै निर्माण सम्पन्न गर्नेगरि काम अघि बढाएको छ ।
महानगरपालिको दिगो फोहोर व्यवस्थापनको लागि कोरीयन सरकार सँग जी टु जी विधिद्धारा हुन गइरहेको समझदारीलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन पहल भईरहेको दाहालले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाले अवको पाँच वर्षमा शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी बजारको माग र आवश्यकताका ेसमेत ख्याल गरी शैक्षिक कार्यक्रम अघि बढाउने तयारी गरेको छ । महानगरभित्रका सबै टोल सुधार समितिहरूलाई टोल सुरक्षा, जनसंख्याको अभिलेख, सडक हरियाली, सडक बत्ती, फोहोर संङ्कलन र रु १ लाख बराबरको टोल सुधार तथा बिबिध मर्मत कार्यक्रमहरूको कार्यबिधी बनाई टोल सुधार समितिहरूलाई सशक्तीकरण गरिने भएको छ । महानगरपालिकाको आन्तरिक आम्दानी बढोत्तरीको गर्न कर शिक्षा, कर सचेतना जस्ता कार्यक्रममा यस्ता टोल सुधार समितिलाइ परिचालन गरि सबै करदातालाइ करको दायरामा ल्याउन अभिप्रेरित गरिने भएको छ । सहकारीलाई उत्पादन र बजारसँग जोड्ने तयारी महानगरको छ ।
सम्पूर्ण उत्पादनलाई ब्राण्डिङ गरी ‘मेड इन भरतपुर’ को अभियान चलाइने दाहालले जानकारी दिनुभयो । निर्माणाधीन रिङरोडलाई पूर्णता दिइदैं छ । महानगरभित्रका बाँकी सडक कालोपत्रे गरिने छ । मेघौली विमानस्थललाई कालोपत्रे गर्ने गृहकार्य सुरु भएको छ । कमाउँदै सिक्दै कार्यक्रमलाई विद्यालयहरुमा लागु गर्दै लगिने छ ।
स्वास्थ्य क्षेत्रको समग्र विकास र विस्तार गर्ने लक्षका साथ भरतपुर केन्द्रीय अस्पताललाई मेडिकल कलेजसहित विशेषज्ञ सेवा प्राप्त गर्ने अस्पतालको रुपमा बिकास गरिने दाहालले बताउनुभयो । बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गर्ने लक्ष लिईएको छ ।
शैक्षिक सुशासनसहित उत्कृष्ट सिकाइ उपलब्धि हासिल गर्ने विद्यालयका प्रधानाध्यापकलाई प्रोत्साहन र सम्मान प्रदान गर्न लागिएको छ । आउँदो ६ महिनाभित्र महानगरभित्र मुख्य सडकमा विद्युतिय बस सञ्चालन गरिने छ । उक्त बसमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई निःशुल्क सेवा प्रदान गरिने छ । महानगरपालिका भित्रको सरकारी स्वास्थ्य संस्थामा जन्मेका छोरीहरुको लागि छोरी विमा योजना लागू गरिएको छ । महानगरपालिका भित्रका सात हजार लि. सम्म खानेपानी उपयोग गर्ने उपभोक्ताहरूको खानेपानी महशुल महानगरपालिकाले उपलब्ध गराउने छ।
महानगरभित्रका सबै आमा समूह, युवा क्लवलाई उत्पादनमा जोडी रोजगार मूलक कार्यक्रम सञ्चालन गरिनुको साथै औधोगिक पाठशाला मार्फत् तालिम र रोजगार बैक मार्फत रोगारको सुनिश्चिता प्रदान गर्ने महानगरको योजना रहेको छ । युवा वर्गलाई ध्यान दिँदै रङ्गशाला, कवर्डहलसंग जोडी, युवा सशक्तिकरण कार्यक्रम ल्याइनुका साथै महानगरभित्र विभिन्न स्थानमा स्मार्ट शौचालय सञ्चालन गरिने छ । महानगरपालिकाले यही असार १० गते नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै छ । प्रमुख दाहालले भन्नुभयो “बिज्ञहरु संग छलफलमानै छौ । अरु महत्वपूर्ण कार्यक्रम पनि थप हुँने छन् ।” महानगरपालिका यतिबेला बिभिन्न क्षेत्रका बिज्ञहरु संग छलफलमा रहेको छ । देशको प्रदेश राजधानी बन्ने अबसर नपाए पनि भरतपुरलाई नमुना शहर बनाउनु पर्ने यहाँका बिज्ञहरुको सुझाब रहेको छ ।

प्रतिक्रिया दिनुहोस !