चितवनः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता गिरिराजमणी पोख्रेलले योगलाई अभियानको रुपमा चलाउन आबश्यक रहेको बताउनुभएको छ । योगी नरहरीनाथ प्राकृतिक चिकित्सालयले आज यहाँ आयोजना गरेको आठौं अन्तर्राष्ट्रिय योग दिबस समारोहमा बोल्दै उहाँले योगलाई सामाजिक अभियानको रुपमा अघि बढाउन सके स्वस्थ रहन सकिने बताउनुभएको हो ।
योग ध्यानको प्रतिपादन गर्ने देश नेपाल भएको भन्दै उहाँले यसलाई समयानुकुल बनाउँदै लैजानु आजको आबश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो “योग अहिलेको युग अनुरुप रहेको छ । यसलाई समयानुकुल बनाउँदै लैजानु पर्छ ।” आँफु शिक्षा मन्त्री हुँदा योगलाई पाठ्यक्रममा समाबेश गर्ने भनि निर्णय गरेको जानकारी गराउँदै उहाँले यसलाई पाठ्यक्रममा राखेर स्कुल देखिनै सिकाउँदै लैजानु पर्ने बताउनुभयो । शिक्षा क्षेत्रमा यसको बिकासले समाजको परिवर्तन सम्भव हुने उहाँको भनाई थियो ।
योगलाई स्थानीय सरकारसंग जोड्नु आजको आबश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “योग, ध्यान प्रति आकर्षण वढेको छ । यसलाई स्थानीय सरकारसंग जोडेर अघि वढाउनु पर्छ ।”
फरक प्रसंगमा बोल्दै उहाँले तत्काल माओवादी केन्द्र मन्त्री फेरवदलको पक्षमा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो “सरकारको नीति तथा कार्यक्रममा छलफल भईरहेको छ । यो समयमा मन्त्री फेरवदल गर्नु राम्रो हुँदैन ।” अर्थमन्त्रीले र सरकारका मन्त्रीहरुले संसदमा जवाफ दिने क्रम जारी रहेको बताउँदै उहाँले पछिल्लो राजनैतिक गतिबिधिको बारेमा केन्द्रको १५ गते पछि बस्ने केन्द्रिय समितिको बैठकले निर्णय गर्ने बताउनुभयो ।
सो अबसरमा बोल्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले योगले जीवन परिवर्तन गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । त्रिभूवन बिश्व बिद्यालयका नारायण गौतमले योग जीवनको पद्धती भएको बताउनुभयो । म योगी हुँ भन्ने भावनाले यसको बिकास गर्नु आवश्यक रहेको उहाँको भनाई थियो । सो कार्यक्रममा चिकित्सालयका कार्यवहाक अध्यक्ष पूर्ण वहादुर श्रेष्ठ, योगी नरहरीनाथ बागिश्वरी आश्रमका अध्यक्ष शैलेन्द्र कुमार पिया, चिकित्सालयका मेडिकल निर्देशक डा. हेमराज कोईरालाले योगको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !