चितवनःनेपालको संबिधान २०७२ ले दिएका अधिकारहरु कानुन निर्माणका क्रममा प्रतिबिम्भित बन्न नसकेको सरोकारवालाहरुले गुनासो गरेका छन् । व्लु डाइमण्ड सोसाइटीको आयोजना र सेभ द चिल्र्डेनको सहयोगमा आज यहाँ आयोजना गरिएको स्थानिय सरकार र सरोकारवालाहरु बिचको छलफलका क्रममा सरोकारवलाहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सोसाईटीका कार्यकारी निर्देशक मनिसा ढकालले सरकार संबिधान जारी गरे पनि कार्यान्वयनमा ल्याउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “संबिधानले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकार दिएको भए पनि कानुन निर्माण गर्ने क्रममा जटिलता थपिएको छ ।” राज्यका संरचनाहरुमा यस समुदायका व्यक्तिहरुको प्रतिनिधित्व समाबेस गराउन नसकीएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो “संबिधान र अदालतको बिभिन्न समयको फसला समेत कार्यान्वयनमा आउन नसक्दा यौनिक तथा लैंगिक अल्पसंख्यकहरु समस्यामा परेका छन् ।”यस समुदायका व्यक्तिहरुले नागरिकता लिनु परेमा मन्त्री परिषदको बैठकबाट पारित हुनुपर्ने बाध्यता अझै नहटेको उहाँको गुनासो थियो । राज्यले समलिङ्गी बिबाहलाई मान्यता नदिनु, पैतृक सम्पतिको अधिकार नहुनु, अन्यमा नागरिकता लिएका व्यक्तिलाई रोजगारीको अबसर नहुनुले यस समुदायका व्यक्तिहरुले समस्या झेल्दै आएको उहाँको भनाई थियो ।
कार्यपत्र प्रस्तुत गर्दै सोसाइटीकी कार्यक्रम व्यवस्थापक भूमिका श्रेष्ठले सार्बजनिक स्थानमा गरिने घृणाले गर्दा समाजमा लुकेर रहेका यौनिक तथा लैंगिक अल्पसंख्यकहरु बाहिर आउन नसकेको बताउनुभयो । कोरोना कहरको समयमा यस समुदायका ३८ जनाले ज्यान गुमाउनु परेका भन्दै उहाँले अध्ययन र अनुसन्धानको कमिका कारण समाजले पचाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक कति छन् र उनीहरुको अबस्था के हो भन्ने बिषयमा समेत अध्ययन हुन जरुरी रहेको छ ।”
व्लु डाइमन सोसाइटीकी केन्द्रिय अध्यक्ष पिंकी गुरुङले नेपालमा अन्य मुलुकमा भन्दा केही परिवर्त भएको भए पनि अझै सोचे जस्तो हुन नसकेको बताउनुभयो । निति निर्माण तहमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको प्रतिनिधित्व नहुँदा समस्या देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यसलाई राजनैतिक मुद्धाको रुपमा अघि सारिनु पर्छ ।” लैंगिक अल्पसंख्यकहरुको समस्या समाधानका लागि समानुपातिक प्रतिनिधित्व आवश्यक रहेको उहाँले बताउनुभयो । यस समुदायका व्यक्तिहरुको बास्तबिक तथ्याङ्क संकलन गर्नु पर्ने अहिलेको मुख्य समस्या रहेको उहाँले जानकारी दिनुभयो ।
सो अबसरमा सहभागीहरुले यौनिक तथा अल्पसंख्यकको समस्या समाधानका लागि राज्यको ध्यान पुग्न जरुरी रहेको बताएका थिए ।






