चितवनः चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिबिधि बढे संगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । हाल कसरामा दुईवटा र सौराहामा दुई वटा खोरमा बाघ रहेका छन् । थप बाघ नियन्त्रण गर्नु परेमा खोरमा रहेका बाघलाई छोड्नु वा अन्यत्र पठाउनुको बिकल्प निकुञ्ज संग छैन ।
निकुञ्जको मुख्य कार्यालय कसरामा दुईवटा खोरमा बाघ छन् । ती मध्ये एउटा बाँकेबाट ल्याईएको झण्डै आठ बर्षको भाले बाघ हो । दोस्रो निकुञ्जकै देवनगर वेलसहर सामुदायीक वनमा दुई वर्ष अघि नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ हो । निकुञ्जको वन्यजन्तु अस्पताल सौराहामा यही बैशाख २७ गते राप्तीबाट नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ । निकुञ्जका अनुसार भरतपुरको राधाकृष्ण सामुदायीक वनमा गएको बिहिबार नियन्त्रणमा लिइएको अन्दाजी ७ वर्षको भाले बाघ बन्यजन्तु अस्पतालको खोरमा राखिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार कसरामा दुईवटा बाघ अट्ने गरि एउटा खोर वन्दै छ । झण्डै एक महिनामा सक्ने गरि काम भइरहेको उहाँले जानकारी दिनुभयो । कसरामा रहेका दुई खोर मध्ये एउटा कच्चि खोर हो भने एउटा पक्कि हो । कच्चिलाई पनि मर्मत गरेर तयारी अबस्थामा राखिदैं छ । हाल सो खोरमा बाघ रहेकाले छोडेपछि वा नयाँमा सारे पछि खोरको मर्मत गरिने छ । आचार्यले भन्नुभयो “तत्काल बाघ नियन्त्रण गर्नुपर्ने भएमा हामी संग ठाउँ छैन । भइरहेकालाई अबस्था हेरेर छोड्नुको बिकल्प छैन ।” यस वर्ष धेरै बाघ नियन्त्रणमा लिनु पर्ने अबस्था आएको उहाँले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा हाल सम्म बाघको आक्रमणबाट १६ जनाको मृत्यु भएको छ । जसमध्ये एक जना कर्मचारीको निकुञ्ज भित्र मृत्यु भएको हो । दुई जनाको दाउन्नेको जंगलमा र १३ जनाको मध्यवर्ती वन क्षेत्रमा बाघले खाएर मृत्यु भएको हो । उहाँका अनुसार साउन यता चार वटा बाघलाई नियन्त्रणमा लिइएर खोरमा राखिएको थियो । ती मध्ये एउटा छोडेपछि मरेको छ भने अर्को एउटालाई छोडेर अनुगमन गरिदैं आएको छ । बाघको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको यो हाल सम्मको उच्च दर हो । निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षमा बाघको आक्रमणबाट ५ जनाको मृत्यु भएको थियो । बाघको संख्या बढेका कारण बाघ धेरै देखिएको र घटना भएको अनुमान गरिएको छ । सन् २०१८ मा गरिएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए । त्यतिवेला देशभरको संख्या २ सय ३५ रहेको थियो । यस वर्ष बाघ गणना भई सकेको छ । विश्व बाघ दिवसको अबसरमा तथ्याङ्क सार्बजनिक गरिदैं छ ।

प्रतिक्रिया दिनुहोस !