चितवनः भरतपुर अस्पतालले अतिविशिष्टिकृत (सुपरस्पेशलिष्ट) क्लिनिक सुरु गरेको छ । अस्पतालले बिहिबारबाट सेवा शुरु गरेको हो ।
अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले सुपरस्पेशलिष्ट क्लिनिकको उद्घाटन गर्नुभएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले हाल ११ वटा सुपरस्पेशलिष्ट (अतिविशिष्टिकृत) क्लिनिक शुरु गरिएको बताउनुभयो । केही दिनमा सेवाहरु थप हुँदै जाने उहाँले जानकारी दिनुभयो ।

विशेषज्ञ क्लिनिक र जनरल बहिरंग सेवा (जिओपिडी)बाट रिफर भएमा बिहान १० बजेदेखि १ बजेसम्म अतिविशिष्टिकृत सेवा लिन सकिने प्रा.डा.पौडेलले बताउनुभयो । यसरी रिफर हुने बिरामीले अतिरिक्त शुल्क तिर्नु नपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो “जिओपिडि र ओपिडिको टिकट लिने बिरामीले सिधैं अतिविशिष्टिकृत सेवा लिन पाउँदैन, रिफर भएमा सेवा लिन पाउँछन् ।”

दिउँसो १ बजेदेखि २ बजेसम्म पेईङ क्लिनिकमा रु. ५०० को टिकट लिएर १ बजेदेखि दिउँसो ४ बजेसम्म अतिविशिष्टिकृत सेवा लिन सकिने उहाँले बताउनुभयो । सुपरस्पेशलिष्ट क्लिनिक संचालन गरेको उपत्यका बाहिर भरतपुर अस्पताल पहिलो भएको उहाँको भनाई छ ।

उहाँका अनुसार सुपरस्पेशलिष्ट अन्तर्गत हेपाटोलोजी (कलेजो रोग), युरोलोजी (मुत्रासय सम्बन्धी) कार्डियोलोजी (मुटु सम्बन्धी) नेफ्र्लोजी (मृगौला सम्बन्धी), न्यूरो सर्जरी (टाउको तथा नसा सम्बन्धी), स्पाईनल (हाडजोर्नी सम्बन्धी) स्पोटर्स मेडिसिन (घुँडा तथा जोर्नी सम्बन्धी), एडल्ट रिकस्टक्सन (जोर्नी प्रत्यारोपण सम्बन्धी), नेओनाटोलोजी (नवजात शिशु सम्बन्धी), पेरिओ–डन्टोलोजी (गिँजा सम्बन्धी), मेक्जियोफेसियल (अनुहारको हाडजोर्नी सम्बन्धी) सेवाहरु रहेका छन् ।

अस्पतालले बिरामीको चाप बढ्दै गएपछि बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म जनरल बहिरंग सेवा (जिओपिडी) सेवा शुरु गरेको छ । अस्पतालमा दन्त सेवाको बहिरंग सेवा पनि बिहान ९ः३० बजेदेखि बेलुका ५ बजेसम्म संचालन गरिएको छ ।

प्रा.डा.पौडेलका अनुसार अन्य नियमित बहिरंग सेवा, शल्यक्रिया (ओटी), क्लिनिकल सेवाहरु बिहान ९ः३० बजेदेखि दिउँसो २ः३० बजेसम्म संचालन हुनेछन् । बहिरंग र जिओपिडीको टिकट काट्ने समय पनि परिवर्तन गरिएको छ । सबै खाले बहिरंग सेवाको टिकट बिहान ७ः३० बजेदेखि १२ बजेसम्म हुनेछ भने जिओपिडी तथा पेईङ ओपिडीको टिकट पुनः दिउँसो १ बजेदेखि २ बजेसम्म काट्न सकिने व्यवस्था गरिएको छ ।

हरेक शुक्रबार भने ओपिडीको चेकजाँच १ः३० बजेसम्म र जिओपिडी तथा पेईङ ओपिडीको दिउँसो ३ बजेसम्म कायम रहने अस्पतालले जनाएको छ । भरतपुर अस्पतालमा चितवन सहित १९ भन्दा वढि जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । प्रसुतीमा काठमाडौंको प्रसुती गृहपछि दोस्रो धेरै सुत्केरी यहाँ हुने गरेका छन् । अन्य सेवाहरुमा पनि भरतपुर अस्पताल अग्रणी रहेको छ ।

प्रतिक्रिया दिनुहोस !