काठमाडौंः नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली सरकारको पालामा अमेरिकासँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) स्वीकार गरेको प्रमाणित गर्न चुनौती दिनुभएको छ ।आज प्रतिनिधिसभाको बैठकको सुरुमै समय लिएर बोल्दै ओली सरकारका उपप्रधान तथा रक्षामन्त्री समेत रहेका पोखरेलले गठबन्धनको नेताहरुले झुटो बोलेको बताउनुभयो ।
एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ओली सरकारकै पालामा एसपीपी सम्झौता भएको दाबी गर्नुभएको थियो । त्यसतर्फ संकेत गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो “म केपी ओली नेतृत्वको सरकारमा उपप्रधान तथा रक्षामन्त्री थिएँ । यस विषयमा कुनै सकारात्मक कुरा, लिखत, वक्तव्यहरु माइन्युट छन् भने यो संसदसमक्ष प्रस्तुत गरियोस् । त्यसको पूर्ण जवाफदेही लिन हामी तयार छौं ।’
उहाँले अघि भन्नुभयो “हिम्मत छ भने केपी ओलीको पालामा भएको हो भनेर प्रस्तुत गर्नुस् । होइन भने उहाँले गैरजिम्मेवार ढंगले बोलेकोमा क्षमा माग्नुपर्छ ।”
पूर्वरक्षामन्त्री पोखरेलका अनुसार स्टेट पार्टनरसीप प्रोग्रामका लागि अमेरिकाले प्रस्ताव गरेको बेला नेपालले २०१५ र २०१७ मा पोजेटिभ रेस्पोन्स गरेर पठाएको थियो । “२०१५ मा कसको नेतृत्वमा सरकार थियो ? प्रधानमन्त्री को थिए ? रक्षामन्त्री को थिए ? प्रधानमन्त्री र रक्षामन्त्री हुने पार्टीले यसको बारेमा के भन्छ ? २०१७ मा जसले एसपीपीलाई सकारात्मक ढंगले पठायो, त्यसबेला मुलुकलाई नेतृत्व गर्ने प्रधानमन्त्री को थियो ?’ पोखरेलले भन्नुभयो “‘गठबन्धनका नेताहरुले आज गलत ढंगले झुट बोलिरहनु भएको छ । उल्टो एमालेप्रति आक्षेप लगाउने काम गर्नु भएको छ ।”
२०१५ मा सुशील कोइराला र २०१७ मा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । त्यसबेला सकारात्मक जवाफ पठाउनेहरु नै अहिले गलत बोलिरहेको भन्दै उहाँले भन्नुभयो “एमालेप्रति संकेत गर्दै जुन आक्षेप लगाउनु भएको छ । त्यसको भत्सर्ना गर्न चाहन्छु ।”
ओली सरकारका पालामा इण्डो प्यासिफिक स्ट्राटेजीको अंग बनाउने कुरा उठेपछि तत्कालीन परराष्ट्र सचिवकै नेतृत्वमा कार्यदल बनाएको उहाँले सुनाउनुभयो । “कार्यदलले एसपीपीको नाममा अगाडि बढाउनु उचित हुँदैन भनेको छ । यो तथ्य हुँदाहुँदै लाज पचाएर गलत ढंगले यो कुरा उछालिँदैछ ।
अमेरिकी अधिकारीहरुसँग भएको भेटमा समेत आफूहरुले असंलग्न परराष्ट्र नीति अनुसार कुनै पनि सैन्य गठबन्धनमा सामेल हुन सक्दैन भनेको उहाँले स्मरण गर्नुभयो ।






