चितवनः पूर्वी चितवनको खैरहनी नगर अस्पतालमा रेबिज विरुद्ध (एन्टि रेबिज) को खोप सेवा शुरु गरिएको छ । जिल्लामा भरतपुर अस्पतालमा मात्रै पाईने यो सेवा खैरहनी नगर अस्पतालले पहिलो पटक शुरु गरेको हो ।
खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माका अनुसार स्वास्थ्य मन्त्रालय, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा खोप सेवा शुरु गरिएको हो । दैनिक रुपमा यो सेवा लिन सकिने उहाँले जानकारी दिनुभयो ।
एन्टि रेबिज खोप हालसम्म जिल्लामा भरतपुर अस्पतालमा मात्रै पाईदै आएकोमा पूर्वी चितवनका जनतालाई लक्षित गरी आफूहरुले शुरु गरेको उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत शर्माले यस सेवाबाट खैरहनी मात्रै नभएर पूर्वी चितवनका जनताले सेवा लिन सक्ने बताउनुभयो । यो खोप निःशुल्क पाईन्छ ।
कुकुर, बिरालो, स्याल, चमेरा जस्ता जंगली तथा घरपालुवा जनावरहरुको टोकाईबाट सर्ने रेबिज रोगलाई प्राणघातक मानिन्छ । रेबिज एक प्रकारको भाइरस हो ।





