चितवनः अचार भन्ने बित्तिकै धेरैको मुख रसाउँछ । तेल, मसला मिलाएर वनाईएको अचार तपाई हामीले खाई रहेका छौ । तर तेल र मर मसला बिनाको अचार हामीले अहिले सम्म कमै प्रयोग गरेका हौला ।
भरतपुर महानगरपालिका वडा नम्बर ४ आनन्दपुर निबासी पुर्णकला सुवेदी चापागाई अहिले घरमानै तेल र मसला रहित अचार बनाएर बेच्न थाल्नु भएको छ । दश वर्ष इजरायल बस्दा सिकेको सिपलाई उहाँले अहिले नेपालमा आएर प्रयोग गर्न थाल्नु भएको हो । रोजगारीको शिलशिलामा इजरायल पुग्नु भएकी चापागाई जहाँ काम गर्नुहुन्थ्यो त्यही घरकी छोरी रुजा लिङ्दाले बनाएको अचार देखेर यो सिप सिक्नु भएको हो ।
सन् २००६ मा रोजगारीका लागि जानु भएकी चापागाई सन् २०१६ मा नेपाल फर्कनु भयो । त्यस पछि पुस्तक व्यवसाय गर्नु भएकी उहाँ दुई वर्ष पछि पर्बतमा भएको दुर्घटनामा पर्नुभयो । दुर्घटनामा परि गम्भिर घाईते बन्नु भएकी चापागाई अहिले आफ्नो शरीरमा केहि सुधार भए पछि आँफुले बिदेशमा सिकेको सिपलाई प्रयोग गर्न थाल्नु भएको हो ।
चापागाई अहिले तेल बिना काँक्रो, खुर्सानी, गाजर, चुकन्दर लगाएतका अचार वनाईरहनु भएको छ । यी खाध्य वस्तुलाई उसिनेर घाममा सुकाएर अचार वनाउने गरेको उहाँले बताउनुभयो । उठेर खासै हिडडुल गर्न नसक्ने उहाँ आफ्नो सिपको प्रयोगका लागि छोराको साथ लिनु भएको छ । कृषि बिषय अध्ययन गर्दै आउनु भएका छोरा प्रशन्नले अहिले आमालाई पूर्ण रुपमा साथ दिई रहनु भएको छ । व्यवसाय राम्रो भएमा आमालाई काममा सघाउन कर्मचारी राखेर काम अघि वढाउने उहाँको योजना रहेको छ । अचार वनाउनका लागि नुन, लसुन, अमिलो लगाएतका सामाग्रीहरु मात्रै प्रयोग गर्ने गरिएको उहाँले बताउनुभयो । पूर्णकलाले भन्नुभयो “स्वास्थ्य वर्दक खानका लागि यो अचार निकै उपयुक्त हुन्छ ।” परिक्षण उत्पादनका रुपमा सुरु गरिएको यो व्यवसायलाई आगामी दिनमा व्यवसायीक बनाउने योजना उहाँको रहेको छ ।
खाँदा नयाँ स्वाद पाउने भएकाले अहिले तत्काल मन नपर्न सक्ने भन्दै उहाँले केही दिनमा व्यवसायीक रुपमा उत्पादन गरेर अचारलाई बजारमा लैजाने बताउनुभयो । यही बैशाख १६ गते देखि चापागाईले यो अचार वनाउन थाल्नु भएको हो । अहिले सम्म १ सय ५० डव्वा अचार घरबाटै बिक्रि भईसकेको छ । उहाँले भन्नुभयो “सुरुवाती समयमा बजारमा अचार रुचाइन्छ की रुचाइदैन भनेर लागत मुल्यमानै दिने गरेका छौ ।” एक पटक प्रयोग गरेका ग्राहकले पुनः माग गर्ने गरेको उहाँको भनाई छ । अहिले चितवन, पोखरा लगाएतका स्थानबाट माग आइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !