चितवन: चितवन राष्ट्रिय निकुञ्जले निकुञ्ज भित्र गरिने पर्यटकीय गतिबिधिहरु यही असार १ गते देखि वन्द गर्ने भएको छ । निकुञ्ज भित्र गरीने जङ्गल सफारी र जङ्गल वाक लगाएतका गतिबिधिहरु बन्द गर्न लागेको हो ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार मनसुन सुरु भए संगै निकुञ्ज भित्रका कच्ची वनपथहरु बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने, रूख लडेर बाटो अवरुद्ध हुन सक्ने कारणले गतिबिधीमा रोक लगाईएको हो । उहाँले भन्नुभयो “अर्को सूचना जारी नभए सम्मका लागि असार १ गते देखि निकुञ्ज भित्र गरिने पर्यटकीय गतिबिधिहरु वन्द गरीएको छ ।” निकुञ्जले हरेक वर्ष वर्षातको समयमा यस्ता गतिबिधिहरु बन्द गर्ने गर्दछ । यो संगै राप्ती नदीमा गरिने डुङ्गा सफारी समेत वन्द गरिएको उहाँले जानकारी दिनुभयो । वर्षातको समयमा डुङ्गा सफारी गर्दा जोखिम हुने भएकाले यसलाई पनि बन्द गरिएको हो ।
निकुञ्ज भित्र हुने पर्यटकीय गतिबिधिबाट यस आर्थिक वर्षको बैशाख सम्म रु ८ करोड १७ लाख ८३ हजार १ सय राजस्व संकलन गरेको छ । सो समयमा १ लाख ५९ हजार ८८१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । उनीहरु मध्ये १ लाख ३६ हजार ५२२ जना नेपाली, १० हजार ९३४ जना सार्क मुलुकका र १२ हजार ४२५ जना अन्य मुलकका रहेको निकुञ्जले जनाएको छ । सोही अबधिमा निकुञ्ज भित्र २ करोड ४१ लाख ४० हजार पटक जङ्गलमा जिप सफारी गरिएको छ । निकुञ्जको मुख्य आम्दानी पर्यटकबाट हुने जङ्गल सफारी रहेको छ ।
–––







