चितवनः भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली काङ्ग्रेसको उपप्रमुख सहित बहुमत सदस्य निर्वाचित भएका छन् । कार्यपालिका सदस्यको आज भएको निर्वाचनमा आठ जना मध्ये ५ जना नेपाली काङ्ग्रेसबाट निर्वाचित भए संगै कार्यपालिकामा काङ्ग्रेसको बहुमत भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचना अनुसार कार्यपालिकाको महिला सदस्यमा पाँच जना मध्ये चार जना रुख चिन्हका उम्मेदवार निर्वाचित भएका छन् । नेपाली काङ्ग्रेसबाट वडा सदस्य निर्वाचित सृजना अधिकारी, सुकमाया परियार, सारदा पोख्रेल र नर्मदा सापकोटा निर्वाचित हुनु भएको हो । माओवादी केन्द्रकी बिना नेपाली पनि निर्वाचित हुनु भएको छ ।
दलित वा अल्पसंख्यकबाट नेपाली काङ्ग्रेसका गोपाल दराई, माओवादी केन्द्रका बिष्णु वहादुर भूजेल र नेकपा समाजबादीकी कोपिला उपरकोटी निर्बाचित हुनु भएको सूचनामा उल्लेख छ । भरतपुर महानगरमा आज निर्वाचित कार्यपालिका सदस्य सहित महानगर परिषद सदस्य संख्या १ सय ५० पुगेको छ । जस मध्ये ७६ नेपाली काङ्ग्रेस, नेकपा एमाले ५२, माओवादी केन्द्र ११, नेकपा एकिकृत समाजबादी ६ जना, राप्रपाका ४ जना र स्वतन्त्र १ जना रहेका छन् । कार्यपालिकामा नेपाली काङ्ग्रेसको २२, नेकपा एमालेको ६, माओवादी केन्द्रको ६, नेकपा समाजबादीको ४ र स्वतन्त्रबाट बिजयी १ भएका छन् । महानगरपालिकामा २९ वटा वडा रहेका छन् ।
नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले भरतपुर महानगरपालिकामा उपप्रमुख सहित कार्यपालिका र परिषदमा काङ्ग्रेसको बहुमत सदस्य निर्बाचित भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !