चितवनः भरतपुर महानगरपालिकाको नगर कार्यपालिकाका लागि मंगलबार निर्वाचन हुने भएको छ । कार्यपालिकाको लागि १५ जनाको उम्मेदवारी परेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका अनुसार दलित वा अल्पसंख्यक ३ र महिला ५ जनाका गरी ८ जनाका लागि निर्वाचन हुन लागेको हो । दलित वा अल्पसंख्यक ३ जनाका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ५ जना महिला सदस्यका लागि १० जनाको उम्मेदवारी दर्ता भएको छ ।
दलित वा अल्पसंख्यकमा नेपाली काङ्ग्रेसबाट एक जना, नेकपा एमालेबाट एक जना, माओवादी केन्द्रबाट २ जना र नेकपा समाजबादीबाट १ जनाको उम्मेदवारी परेको छ । यस्तै महिलामा काँग्रेसबाट ४ जना, नेकपा एमालेबाट ४ जना, माओवादी केन्द्रबाट १ जना र राप्रपाबाट १ जनाको उम्मेदवारी दर्ता भएको उहाँले जानकारी दिनुभयो ।
भरतपुर महानगर कार्यापालिकाको निर्वाचन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार बिहान १० वजे देखि २ वजे सम्म हुने छ । यस निर्बाचनमा भरतपुर महानगरपालिकाका प्रमुख, उपप्रमुख, २९ वडाका वडा अध्यक्ष र वडा सदस्य गरी १४७ जनाले मतदान गर्ने छन् ।






