चितवनः शशस्त्र द्धन्द्धको समयमा माडीको बाँदरमुढे खोलामा भएको बम बिस्फोटको आज १७ वर्ष पुरा भएको छ । घटना भएको झण्डै दुई दशक पुग्न लाग्दा समेत पिडितले अझै परिपुरण र औषधि उपचारको माग गर्दै हिड्नु पर्ने बाध्यता रहेको छ ।
तत्कालिन नेकपा माओवादीले राखेको एम्बुसमा माडीको बगईबाट १ सय ५० जना यात्रु बोकेर नारायणगढ तर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुवहाक बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो भने ७२ जना घाईते भएका थिए । सोही घटनामा पिडित बन्नु भएका माडी नगरपालिका वडा नम्बर ७ का कृष्ण अधिकारी अहिले सम्म पनि राज्यका तर्फबाट परिपुरणको व्यवस्था नहुनु दुखद रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “घाईते हामी धेरै छौ । जम्म २२ जनाले मात्र राहत पाएका छन् । अरुले पाउन सकेका छैनन् ।”
घाईते भएका ७२ जना मध्ये अझै ५० जनाले राज्यबाट कुनै पनि सहयोग पाउन नसकेको उहाँको भनाई छ । उहाँले थप्नुभयो “सरकारले बाँदरमुढे पिडित भनेर रातो किताबमा नाम निकालेकाहरुले मात्रै राहत पाएका छन् ।”यो नाम पनि शक्तिको आधारमा राखिएको उहाँको भनाई छ । राहतमा नाम नपरेकाहरुका लागि पुनः मुल्याङ्कन गरी राहतको व्यवस्था गर्नु पर्ने उहाँले बताउनुभयो । राहतका लागि राखिएका नामहरु मध्ये २० प्रतिशत देखि शत प्रतिशत सम्मको रहेको छ । शत प्रतिशत राहत पाउने २ जना रहेका छन् भने अधिकांश २० प्रतिशत राहत पाउने रहेका छन् । यसको पुनरावलोकन हुन नसक्दा समस्या आएको उहाँले बताउनुभयो ।
राज्यले अहिले सम्म पिडितहरुलाई खासै केही गर्न नसकेको अर्का पिडित सुदिप न्यूरेले बताउनुभयो । उहाँ अहिले राज्यले पिडितलाई झुक्याउने र पिडितले बिरोध गर्ने काम भन्दा केही हुन नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “बाँदरमुढे पिडितलाई परिपुरणको व्यवस्था मात्रै राज्यले गर्न सक्नेहो भने धेरै समस्या हल हुन्छ ।”माओवादी केन्द्रका जिल्ला नेताहरुले सो घटनालाई सामान्य रुपमा लिएकाले अहिले सम्म समस्या जस्ताको तस्तै रहेको उहाँले आरोप लगाउनुभयो । उहाँले थप्नुभयो “यो घटनाको बिषय जिल्ला नेताहरुले उठाउनै चाहदैंनन् । हाम्रो समस्यामा स्थानीय नेताहरु बाधक वने ।”
बाँदरमुढे पिडित संघर्ष समितिका अध्यक्ष मुक्ती न्यौपाने अहिले पनि घटना स्थलमा पुग्दा आफ्नो शरिर काप्ने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “मेरो श्रीमतीको शब अहिले पनि त्यही छ जस्तो मलाई लाग्छ ।” घटना भएको १७ वर्ष पुग्दा समेत राज्यले आफ्नो दायीत्व पुरा गर्न नसकेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “तत्कालिन माओबादीका अध्यक्ष पुष्पकमल दाहाल दुई– दुई पटक प्रधानमन्त्री हुँदा समेत आँफुहरुको माग सम्बोधन नहुनु दुखद रहेको छ ।” पिडितले अहिले न्यायको कुरालाई पछि राख्दै परिपुणलाई प्रथामिकता दिन समेत आग्रह गरेका छन् । उहाँले भन्नुभयो “पहिला घाईतेको उपचार र परिपुरणको व्यवस्था गर्नु राज्यको दायीत्व हो ।” न्याय र परिपुरण दुबै हुन नसकेको पिडितहरुको गुनासो रहेको छ ।
माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले पार्टीको पहलमा पिडितलाई न्याय र परिपुरणका क्षेत्रमा धेरै काम भएको बताउनुभयो । पिडितहरुको मागलाई मध्यनजर गर्दै सरकार संग आफ्नै पार्टीको पहलमा घटना स्थलमा पार्क निर्माण देखि स्वास्थ्य उपचार, शिक्षा, रोजगार लगाएतमा प्रथामिकतामा राखेर काम भइरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “त्यही घटनालाई देखाएर धेरै प्रचारबाजी भएका छन् । काम नभएको होइन । यो द्धन्द्धकालिन घटना हो ।”






