चितवनः गणतन्त्रको १५ वर्षको अवधिमा जनअपेक्षापूरा हुन नसकेपनि प्राप्त उपलब्धीलाई कम आँक्न नहुने यहाँका बृद्धिजीविहरुले बताएका छन् । उनीहरुले जनताले सोचेजस्तो परिवर्तन हुन नसकेपनि धेरै कुराहरु पूरा हुँदै गएको बताएका हुन् ।

मानवअधिकारवादी बुद्धजीवि बालकृष्ण पौडेल गणतन्त्र पूर्ण रुपमा सन्तुष्टी हुने अवस्था नभए पनि उपलब्धीलाई कम आँक्नु गलत हुने बताउनुहुन्छ । राजतन्त्र र गणतन्त्रको दूरी आकाश र जमिनको जस्तो भएको बताउँदै उहाँले भन्नुभयो “जनताको आधारभूत आवश्यकता पूरा गर्ने क्रममा सुशासन, समृद्धि र जनताका आधारभूत कूराहरु जे जति गणतन्त्रमा दिनसकिन्छ, त्यो राजतन्त्रले दिन सक्दैन ।”

गणतन्त्र जनताद्वारा जनताका लागि आफैले गर्ने शासन व्यवस्था भएको बताउँदै पौडेलले भन्नुभयो “जे जति उपलब्धी १५ वर्षमा भए त्यो उपलब्धी राजतन्त्रमा सयौं वर्षमा पनि सम्भव थिएन र भएन । कसैले व्यक्तिगत रुपमा राजतन्त्रका कुरा गरिराखेका छन्, भावी सन्ततीको भविष्य नसोच्ने र विकासका र समृद्धिका बारेमा नसोच्नेहरुको धारणा हो त्यो ।”

वाम बुद्धिजीवि रमाकान्त सापकोटा गणतन्त्रको दिसामा भएका संवैधानिक, कानुनी प्रक्रियाहरु सकारात्मक भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “गणतन्त्रमा भएका अभ्यासहरुलाई सकारात्मक रुपमा लिन सकिन्छ ।” राजनैतिक नेतृत्वको दलीय तथा व्यक्तिगत स्वार्थहरु, आग्रह, पूर्वाग्रहरु, प्रयोग गरिएको भाषा शैलीहरु नागरिकले रुचाउने खालका नभएको भन्दै उहाँले अगाडि थप्नुभयो “फेरि पनि संवाहक भनेको दल र दलको नेतृत्व नै हो । यदाकदा नागरिक र स्वतन्त्र व्यक्तिको योगदान रहन सक्छ । महत्वपूर्ण भूमिका खेल्नुपर्ने दलहरुले नै हो ।”
दल र दलको नेतृत्वलाई धेरै सुधार गर्नुपर्ने अवस्था रहेको सापकोटाको भनाई छ । उहाँले थप्नुभयो “दल र दलको नेतृत्वलाई जनताले आगामी दिनका निर्वाचनलाई प्रयोग गरेर सुधार्नुपर्छ ।” वीरेन्द्र बुहुमुखी क्याम्पस भरतपुरका सहप्राध्यापक डा.एकनारायण पौडेल गणतन्त्रले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको र आफ्नो नीति नियम आफै निर्माण गर्ने तहमा पु¥याएको बताउनुभयो । स्वायत्तताका हिसाबले केही उपलब्ध भएको बताउँदै उहाँले भन्नुभयो “स्थानीय तहमा बजेट आउने कुरा, स्थानीय तहको नीति नियम आफै बनाउने कुरा, स्वयत्तताका हिसाबले केही उपलब्धी भएको छ ।”

प्रादेशिक संरचनाका कारणले खर्च बढेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “अधिकारसँगै भ्रष्टाचार बढेको छ । नियमन राम्रो हुन सकेको छैन । विसंगति सँगसँगै आएको छ ।” केन्द्रीय राजनीतिको संस्कारमा परिवर्तन आउन नसकेका कारण युवाहरुमा वितृस्णा आएको उहाँको बुझाई छ । उहाँले अगाडि थप्नुभयो “केही निराशा पनि छ । यसलाई नेतृत्वले सच्याउनु पर्छ ।” अधिकारको सवालमा चेतना जागेको उहाँले बताउनुभयो । प्राप्त अधिकारको सदुपयोग हुन नसकेको बताउँदै उहाँले भन्नुभयो “स्वार्थकेन्द्रीत नीति नियम बनाउने, उत्तरदायित्वहिन भएको छ । यसको सदुपयोग गरे राम्रो छ ।” अधोगतितर्फ गईरहेको गणतन्त्रको बिग्रदो वातावरणलाई सुधार गर्नुपर्ने उहाँको सुझाव छ । गणतन्त्र प्राप्तीका लागि बलिदान दिएकाहरुका परिवार भने अझै सन्तुष्ट हुन सक्ने अवस्था छैन । राज्यसत्तामा पुगेकाहरुबाट जुन अपेक्षा उनीहरुले गरेका छन्, त्यो पूरा हुन नसकेको हो ।

शहीद परिवार समाज चितवनकी अध्यक्ष संगीता भट्टराई गणतन्त्रसँगै व्यवस्था पाएको भए पनि अवस्थाको अनुभूति गर्न नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “यो व्यवस्थाले बालेन, हर्क राई जस्ताको जन्म भए पनि अवस्थामा परिवर्तन हुन सकेन ।”केन्द्रीकृत राज्यव्यवस्था भईरहँदा नेतृत्वमा पुस्तान्तरण हुन नसकेको उहाँको भनाई छ । अहिलेकै नेतृत्व रहीरहँदा गणतन्त्रको अनुभूति दिलाउन नसकिएको भन्दै उहाँले त्यसतर्फ नेतृत्व वर्ग लाग्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो “शहीदप्रति सम्मान हुनुप¥यो र अभिलेखिकरण हुनुप¥यो ।”

विद्रोही पक्षबाट आफ्नो बुबा गुमाएर विस्थापित हुनु भएका विजयराज बिष्ट धेरै तन्त्र फेरिए पनि युद्धका नाममा मारिएका आफ्नो जस्तो आम नागरिकको कथा फेरिन नसकेको गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयो “न्याय पाउने आशा पूरा हुन सकेन । राज्य नियम कानुन अनुसार चलोस् ।” न्याय पाउने आम नागरिकको अधिकार कुनै तन्त्रको नाममा खोसिन नहुने बिष्ट बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !