चितवनः स्थानीय तह निर्वाचनका क्रममा ७ दशमलब ३१ प्रतिशत देखि ६३ दशमलब १७ प्रतिशत सम्म मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतकोका कार्यालयका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २६ को दलित महिला सदस्यमा ६३ दशमलब १७ प्रतिशत मत बदर भएको हो । सो वडाको दलित महिला सदस्यमा ४ हजार ९९३ मत खसेकोमा २ हजार ६६६ बदर भएको थियो ।
यस्तै भरतपुर महानगरपालिका वडा नम्बर २४ को वडा अध्यक्षमा ७ दशमलब ३१ प्रतिशत मत बदर भएको छ । यहाँ २ हजार २८६ मत खसेकोमा १६७ मत बदर भएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी पुरुषोतम पौडेलका अनुसार महानगरको प्रमुख पदमा १५ दशमलब ६६ प्रतिशत मत बदर भएको छ । कुल खसेको १ लाख २७ हजार ६४० मतमा १९ हजार ९९१ मत बदर भएको हो । जस मध्य सम्पूर्ण रुपमा बदर मत २ हजार ५६९ रहेको छ । सम्पूर्ण रुपमा बदर मत प्रतिशत हेर्दा २ दशमलब १ प्रतिशत रहेको उहाँले बताउनुभयो ।
यस्तै भरतपुर महानगरको उपप्रमुखमा ३३ दशमलब ६१ प्रतिशत मत वदर भएको छ । उपप्रमुखमा खसेको मत १ लाख २७ हजार ६६७ मत मध्य ८४ हजार ८८६ मत सदर भएको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उपप्रमुखका ४२ हजार ७८९ मत बदर भएको थियो । निर्बाचन चिन्ह बढि हुँदा मतदाता झुक्किएर मत वदर संख्या बढेको हुन सक्ने अनुमान राजनैतिक दलहरुले गरेका छन् । उम्मेदवार नभएको चिन्हमा समेत मत परेको पौडेलले जानकारी दिनुभयो । मतदाता शिक्षाको कमी हुँदा मत बदर संख्या बढि भएको हो ।
–––






