स्थानीय तहको निर्बाचनले दलहरुलाई सचेतना दिएको छः उपसभापति खड्का
चितवन: नेपाली काङ्ग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनको मत परिणामले दलहरुलाई सचेतना दिएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले काठमाडौं लगाएत केही स्थानको मत परिणामले दलहरुलाई केही संकेत गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “स्थानीय तहको निर्वाचनको परिणामले दलहरुलाई जनताले टाढा राख्न खोजे भन्ने होईन तर केही ठाउँको निर्वाचनको परिणामले राजनैतिक दलहरुलाई र दलको जिम्मेवारी बोकेकाहरुलाई सचेतता दिलाएको छ ।”स्थानीय तहको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको भन्दै उहाँले अब दलहरुले अहिलेको निर्वाचनले गरेको संकेतलाई ध्यानमा दिन जरुरी रहेको बताउनुभयो ।
राजधानि लगाएत केही ठाउँको निर्वाचनको परिणामलाई लिएर दलका नेतृत्वले समिक्षा गरेर आउने दिनहरुमा नयाँ निर्णयहरु गर्नु गर्दै नयाँ तरीकाले पार्टी चलाउनु पर्ने देखिएको उहाँको भनाई थियो । स्थानीय तहको निर्बाचनले गठवन्धनलाई साकार पारेको बताउँदै उहाँले यसलाई थप व्यवस्थित र आबश्यकतालाई पुष्टि गर्दै नयाँ तरीकाबाट लैजानु पर्ने बताउनुभयो । अहिलेको गठवन्धन बिस्तृत शान्ति सम्झौतालाई पूर्णता दिएर अघि वढ्नका लागि बनेको उहाँको भनाई छ । निर्वाचन जित्नका लागि मात्र गठवन्धन नबनेको भन्दै उहाँले देशलाई दुर्घटनामा जानबाट बचाउनका लागि अहिलेको गठवन्धन आबश्यक रहेको बताउनुभयो ।
फरक प्रसंगमा बोल्दै उहाँले सरकारले नीति तथा कार्यक्रम गठवन्धनमा छलफल गरेर गठवन्धनको सुझाब अनुसार ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो “नीति तथा कार्यक्रम मुलुकको आबश्यकतालाई धेरै हद सम्म सम्बोधन गर्ने गरी ल्याएको छ ।”






