चितवनः भरतपुर महानगरपालिकामा पाँच दलीय गठवन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जीत नजिक पुग्नु भएको छ । मत गणना अन्तिम चरणमा पुग्दै गर्दा प्रमुख पदका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहाल र उपप्रमुख पदका उम्मेदवार नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारी जीत नजिक पुग्नु भएको हो ।
महानगरमा अब २१ हजार ६ सय १४ मत गन्न बाँकी छ । महानगरमा १ लाख २७ हजार ८ सय ३९ मत खसेको थियो । आज विहान सम्म १ लाख ६ हजार २२५ मत गणना भैसकेको छ ।
प्रमुखमा माओवादी केन्द्रकी दाहाल ९ हजार ९ सय ३० र कांग्रेसका अधिकारी १८ हजार ३ सय २५ मतले अगाडी हुनुहुन्छ । प्रमुखमा दाहालले ४३ हजार ७ सय ४३ , एमालेका विजय सुवेदीले ३३ हजार ८ सय १३ मत ल्याउनुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले १३ हजार ३ सय ७७ मत पाउनुभएको छ । उपप्रमुखमा अधिकारीले ४५ हजार ७४, राप्रपाका हिमला गुरुङले २६ हजार ७ सय ४९ मत ल्याउनुभएको छ ।
प्रमुखमा दाहाल र उपप्रमुखमा अधिकारी जीत नजिक पुग्नुभएको हो । हाल वडा नम्बर २३ र २५ को मत गणना भईरहेको छ । महानगर पालिकामा २९ वटा वडा रहेका छन् । यी दुई वडाको मत गणना पछि चार वटा वडा मात्र गणना गर्न बाँकी रहन्छ । भरतपुर महानगरपालिकामा जीत नजिक पुग्नु भएकी दाहाल यस अघिको महानगरको प्रमुख हुनुहन्थ्यो । उहाँलाई नेपाली काङ्ग्रेस सहित पाँच दलीय गठवन्धनको सहयोग रहेको छ । निकट मत रहनु भएका सुवेदी बागमती प्रदेश सदस्यबाट राजिनामा दिएर प्रमुखमा उम्मेदवार हुनु भएको हो । उहाँलाई राप्रपाको साथ रहेको छ ।

प्रतिक्रिया दिनुहोस !