चितवनः पूर्बी चितवनको रत्ननगर नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् । आज सम्पन्न मतगणना अनुसार नगरप्रमुखमा नेपाली काङ्ग्रेसका प्रल्हाद सापकोटाले नेकपा एमालेकी बिमला दुवाडीलाई ८ हजार ६९ मतले पछि पार्दै बिजयी हुनु भएको हो । सापकोटाले २० हजार ७९६ मत प्राप्त गर्दा दुवाडीले १२ हजार ७२८ मत प्राप्त गर्नु भएको थियो । दुवाडी वि.सं.२०७४ सालको स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा बिजयी हुनु भएको थियो । राप्रपाका हरिशरण भट्टराईले १ हजार १८५ मत प्राप्त गर्नुभयो ।
यस्तै उपप्रमुखमा नेकपा एमालेका यादब पाठक बिजयी हुनु भएको छ । पाठकले गठवन्धनबाट उपप्रमुखको उम्मेदवार बन्नु भएका नेकपा समाजबादीका बद्रिनाथ घिमिरेलाई १ हजार १६० मत अन्तरले पराजित गर्नु भएको हो । पाठकले १३ हजार ५१४ मत प्राप्त गर्दा घिमिरेले १२ हजार ३५४ मत प्राप्त गर्नुभयो । यस्तै राप्रपाका उम्मेदवार बिमला चौधरीले १ हजार ५६७ मत र स्वतनत्रका उम्मेदवार बिरञ्जना घिमिरेले २ हजार ३३३ मत प्राप्त गर्नु भयो । यस पालिकामा गठवन्धनबाट १,२,३,४,५,६,८,१०,१४ नेपाली काङ्ग्रेस, वडा नम्बर १२ मा माओवादी केन्द्र, ७,११,१३,१५ र १६ मा नेकपा एमाले र वडा नम्बर ९ मा स्वतन्त्र उम्मेदवारले बिजयी हाँसील गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस पालिकामा ३९ हजार ४११ मत खसेको थियो ।






