चितवनः भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठवन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ । पाँच दलीय गठवन्धनबाट प्रमुख पदको उम्मेदवार बन्नु भएकी माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका बिजय सुबेदी बिचको मतान्तर १ हजार ३९३ पुगेको छ । दाहाल ९ हजार ४४७ मतका साथ अग्र स्थानमा हुनुहुन्छ भने सुबेदी ८ हजार ५४ मतका साथ हुनुहन्छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ४ हजार २६५ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।
उपप्रमुखमा नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारीले ११ हजार २६५ र राप्रपाका हिमला गुरुङले ६ हजार ५७७ मत प्राप्त गर्नुभएको छ ।
हाल भरतपुर महानगरपालिका वडा नम्बर ६ को मत गणना जारी रहेको छ । वडा अध्यक्षमा गठवन्धनका तर्फबा नेपाली काङ्ग्रेसका कृष्णलाल श्रेष्ठ २ हजार ६१ मत र नेकपा एमालेका डोलनारायण अधिकारीले १ हजार ७६१ मत प्राप्त गर्नु भएको छ । यस अघि महानगरको वडा नम्बर १, २, ४ र ५ को वडा अध्यक्षमा गठवन्धनबाट काङ्ग्रेसका उम्मेदवार निर्वाचित हुनु भएको छ भने वडा नम्बर ३ मा नेकपा एमालेका वडा अध्यक्ष निर्वाचित हुनु भएको छ ।
भरतपुर महानगर पालिकामा १ लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यस्तै जिल्लाको माडीको प्रमुखमा नेकपा एमालेले जित हाँसील गरेको छ । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा नेकपा एमाले एबं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँचदलीय गठवन्धनको अग्रता कायम गरेको छ ।






