चितवनः माडी नगर निर्वाचनअन्तर्गत दोस्रोपटक मतगणना रोकिएको छ । माडी ७ को गणना जारी रहँदा र माडी ३ को गणना सुरू हुने क्रममा मतगणना रोकिएको हो ।
माडी ३ को रतनी धोबाहा बुथमा मतपेटिकाको सिल काटी नयाँ सिल लगाएको पाइएको भन्दै नेकपा (माओवादी केन्द्र)ले मतगणना रोक्न र पुनः मतदान गर्न माग गर्दै निर्वाचन कार्यालय माडीमा आवेदन गरेसँगै मतगणना रोकिएको हो ।
त्यसलगत्तै राप्रपाका कार्यकर्ताहरुले माडी ३ मा निर्वाचन आयोगका कर्मचारीहरुले मतपेटिका साटेको र सिल तोडेको आरोप लगाउँदै नाराबाजी गरेका थिए । उनीहरुले माडी ३ मा पुनः मतदानको माग गर्दै चर्को विरोध गरेका हुन् । मध्यरातसम्मै चलेको नाराबाजीका कारण मतगणना भैरहेको माडी क्याम्पस अगाडिको वातावरण तनावग्रस्त बन्न पुगेको थियो ।
यो समस्याको निदानका लागि सर्वदलीय संयन्त्रको बैठक बस्ने र निर्वाचन आयोगको माथिल्लो निकायसँग परामर्श गरी प्रचलित कानुन बमोजिम समाधानको सहजीकरण खोज्ने निर्वाचन अधिकृतको कार्यालय माडी नगरपालिकाले जनाएको छ ।






