चितवनः भरतपुर महानगरपालिकाको मत गणना सुरु भएको छ । जिल्लाको अन्य ६ पालिकाको गणना शुक्रबार रातीबाट सुरु गरिएको थियो ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १ बाट मतगणना थालिएको हो । मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीका अनुसार सुरुमा एक स्थानमा मत गणना गरिने छ भने क्रमश गणना स्थल बढाउँदै लगिने छ । जेठ ५ गते सम्ममा गणना सम्पन्न गर्ने गरी योजना बनाइएको उहाँले जानकारी दिनुभयो ।
भरतपुर महानगर पालिकामा १ लाख २७ हजार ८ सय ३९ मत खसेको छ । सो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ जना मतदाता रहेका थिए । यसलाई हेर्दा ६८ दशमलब ८० प्रतिशत मत खसेको
जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । समग्र जिल्लामा ७४ दशमलब ०९ प्रतिशत मत खसेको छ । कार्यालयका प्रमुख भिमसेन कार्कीका अनुसार रत्ननगर नगरपालिकामा ३९ हजार ४ सय ११ मत खसेको छ । सो नगरपालिकामा कुल मतको ७४ दशमलब ८६ प्रतिशत मत खसेको हो । यस नगरपालिकामा ५२ हजार ६ सय ४२ जना मतदाता रहेका छन् ।
कालिका नगरपालिकामा २ हजार ३ सय ५० मत खसेको छ । जुन ७८ दशमलब १५ प्रतिशत हुन आउँछ । यहाँ ३१ हजार १ सय ५७ जना मतदाता रहेका छन् । खैरहनी नगरपालिकामा ३२ हजार ३ सय मत खसेको छ । यो कुल मतदाताको ७४ दशमलब २० प्रतिशत मत खसेको उहाँले जानकारी दिनुभयो । सो पालिकामा ४३ हजार ५ सय ३१ जना मतदाता रहेका थिए । राप्ती नगरपालिकामा २९ हजार ७ सय ३७ मत खसेको छ । जुन ७३ दशमलब १५ प्रतिशत हुन आउँछ । यस पालिकामा ४० हजार ६ सय ४९ मतदाता रहेका छन् । माडी नगरपालिकामा २० हजार ४ सय ९६ मत खसेको छ । यस नगरपालिकामा कुल मतको ७२ दशमलब ३७ प्रतिशत मत खसेको हो । जहाँ २८ हजार ३ सय २० मतदाता रहेका थिए । इच्छाकामना गाउँपालिकामा १२ हजार ९ मत खसेको छ । यो कुल मतदाताको ७६ दशमलब ८१ प्रतिशत मत हुन आउँछ । जहाँ १५ हजार ६ सय ३४ मतदाता रहेका छन् ।
जिल्लामा ३ लाख ९७ हजार ६ सय ८५ मतदाता रहेका छन् । जसमध्ये २ लाख ४ हजार ६ सय ६६ जना महिला, १ लाख ९३ हजार १८ जना पुरुष र १ जना तेस्रो लिङ्गी रहेका छन् । जिल्लामा १ सय ६१ मतदान स्थलमा ४ सय ५१ मतदान केन्द्रबाट मतदान भएको थियो ।
बि. सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा जिल्लामा ७६ दशमलब ७१ प्रतिशत मत खसेको थियो । जिल्ला निर्बाचन कार्यालयका अनुसार त्यति बेला भरतपुर महानगरपालिकामा ७५ दशमलब १२ प्रतिशत, राप्ती नगरपालिकामा ७७ दशमलब ३९ प्रतिशत, खैरहनी नगरपालिकामा ७५ दशमलब ३४ प्रतिशतमत खसेको थियो । यस्तै रत्ननगर नगरपालिकामा ८० दशमलब ४१ प्रतिशत, कलिका नगरपालिकामा ८० दशमलब ७५ प्रतिशत, माडी नगरपालिकामा ७५ दशमलब ३० प्रतिशत र ईच्छाकामना गाउँपालिकामा ८० दशमलब २९ प्रतिशत मत खसेको थियो ।






