चितवनः प्रधानमन्त्री शेरवहादुर देउवा चितवन झरे संगै निजी गाडीमा सवार हुनु भएको छ । नेपाली काङ्ग्रेसका सभापति देउवा पार्टीको कामका लागि आएकाले भरतपुर बिमानस्थलबाट आँफु बसेको होटल सम्म निजी गाडीमा पुग्नु भएको हो ।
प्रधानमन्त्री देउवा यहाँ आउनु अघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहिबार सत्ता गठवन्धनले गर्न लागेको सभामा प्रधानमन्त्री आचार संहिता उल्लंघन गरेर आउन लागेको भन्दै उजुरी परेको थियो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठको बा ३ च २०४० नम्बरको ल्याण्डक्रुजर गाडीमा देउवा होटल पुग्नु भएको हो । श्रेष्ठले निर्वाचन आचार संहिता पालना गर्दै पार्टी सभापति समेत रहनु भएका देउवा झण्डा बिना आफ्नो गाडीमा सवार भएको बताउनुभयो । उहाँले भन्नुभयो “यहाँ रहँदा सभापति ज्यू निजी गाडीमा हिडडुल गर्नुहुन्छ ।”
श्रेष्ठका अनुसार देउवा यहाँ रहँदा पार्टीको व्यवस्थापनमा बस्नुहुने छ । उहाँले थप्नुभयो “सबै खर्च पार्टीले गर्ने छ ।” देउवा र उहाँको समुह रहेको होटल सिराईचुलीका मुख्य सञ्चालक श्रेष्ठनै हुनुहुन्छ । प्रधानमन्त्री देउवा आज बिराटनगरबाट नेपाली सेनाको एनए ०६२ कलसाईन रहेको जहाजबाट आउनु भएको हो । उहाँका प्रेस सल्लाहाकार गोबिन्द परियारका अनुसार सो जहाज नेपाली काङ्ग्रेसले भाडामा ल्याएको हो । उहाँले भन्नुभयो “निर्वाचन आयोगसंग अनुमति लिएर पार्टीले भाडामा जहाज ल्याएको हो ।”
जिल्लामा गठवन्धनले गर्न लागेको जनसभालाई सम्बोधन गर्न देउवा आउनु भएको हो । उहाँ संगै पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल पनि आज आउनु भएको छ । सभालाई नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा समाजबादीका अध्यक्ष माधब कुमार नेपाल सहितका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भरतपुर महानगरपालिकामा गठवन्धनका तर्फबाट माओवादी केन्द्रकी नेता रेनु दाहाल प्रमुख पदमा उम्मेदवार हुनुहुन्छ । पार्टीले टिकट नपाएको भन्दै नेपाली काङ्ग्रेसका नेता जगन्नाथ पौडेलले स्वतन्त्रबाट उम्मेदवारी दिनु भएको छ ।
बिभिन्न वडाहरुमा पनि समस्या रहेको छ । काङ्ग्रेसका जिल्ला स्तरका नेता र अन्य सरोकार राख्नेहरु संग सभापति र बरिष्ठ नेताको उपस्थितिमा छलफल गराएर सहजिकरण गर्न देउवा आजै चितवन आउनु भएको हो । जिल्ला सभापति राजेश्वर खनालका अनुसार आज र भोली पार्टीका बिभिन्न तहका नेताहरुसंग छलफल गर्ने कार्यक्रम रहेको छ ।






