चितवनः देशभरका मुटु र फोक्सो रोग विशेषज्ञ चितवनमा भेला हुने भएका छन् । नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजले पहिलो पटक राष्ट्रिय सम्मेलन गर्न लागेको हो । कम संख्यामा चिकित्सक रहेको मुटु र फोक्सोका विशेषज्ञ चिकित्सकहरुले एउटै थलोमा जम्मा भएर अनुभव आदानप्रदान सँगै नयाँ प्रविधिको बारेमा छलफल गर्ने भएका हुन् ।

समाजका अध्यक्ष प्रा.डा. मणिप्रसाद गौतमले नेपालमा एक सय हाराहारी विज्ञ चिकित्सक रहेको भन्दै अधिकतमको उपस्थितिमा यही शनिबार सम्मेलन हुने जानकारी दिनुभयो । सम्मेलनमा २६ वटा वैज्ञानिक कार्यपत्र प्रस्तुतीकरण र छलफल हुनेछ । उहाँले भन्नुभयो “कार्यक्रममा मुटु शल्य चिकित्सक, फोक्सोरोग विशेषज्ञ, भास्कुलर सर्जन र फिजिसियन समेत सहभागी हुनुहुनेछ ।”

नेपालमा विशेषज्ञ चिकित्सक थपिंदै गएको भन्दै उहाँले नयाँ प्रविधिको बारेमा खोज अनुसन्धान उपलब्धीलाई आदानप्रदान गर्न सम्मेलन फलदायी हुने बताउनुभयो ।

समाजका महासचिव डा. शंकर लौडारीले पहिलो पटक गर्न लागिएको सम्मेलनले मुटुरोगको उपचारमा प्रविधि भित्र्याउँदै नयाँ आयाम दिने बताउनुभयो । उहाँले भन्नुभयो “अब नेपाली मुटु र फोक्सो उपचारका लागि विदेश जानु नपर्ने गरी विशेषज्ञ र प्रविधि हामीसँग छ ।”

प्रतिक्रिया दिनुहोस !