चितवनः पोल्ट्रीको राजधानीका रुपमा चिनिएको यस जिल्लामा पछिल्लो चार महिनामा ३१ वटा पोल्ट्री फर्ममा बर्डफ्लु देखा परेको छ । माघ २८ गते पहिलो पटक पूर्बी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्ला भरीनै देखिएको हो ।
जिल्लामा अहिले सम्म बर्डफ्लु देखिएका फर्महरुमा २ लाख ३३ हजार ३ सय १२ लेयर्स कुखुरा मारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र भरतपुरका सूचना अधिकारी डा. प्रभाश न्यौपानेका अनुसार ब्रोइलर ६ सय ४६, कडकनाथ ८ सय ९६, हाँस ३५ वटा नष्ट गरिएको छ । बर्डफ्लुका कारण जिल्लामा १ लाख ७८ हजार २ सय २६ वटा अण्डा, ६२ हजार ९ सय २० किलो दाना, ५८ हजार २ सय २० क्रेट, ६ हजार टर्की ब्रिडिङ् अण्डा, प्यारेन्ट ब्रोइलर ३ हजार ४ सय ७६ वटा, १ हजार ३ सय ८० वटा गिरीराजको अण्डा, काटुन १ हजार ५ सय, डाला ६ सय ६० र तयारी मासु ४० किलो नष्ट गरीएको न्यौपानेले जानकारी दिनुभयो ।
पूर्बी क्षेत्रमा बर्डफ्लुको बढि प्रभाव देखिएको छ । पछिल्लो पटक खनाल पोल्ट्रीमा बर्डफ्लु देखिए पछि त्यहाँका ९० हजार कुखुरा नष्ट गरिएको कार्यालयले जनाएको छ । बर्डफ्लु देखिएका मध्ये जिल्लाको सबैभन्दा ठूलो फर्म खनाल पोल्ट्री हो । पूर्बी चितवनकै अर्को एक फर्ममा तिब्र परिक्षण गर्दा पोजेटिभ देखिए पछि थप परिक्षणका लागि नमुना काठमाडौं पठाईएको न्यौपानेले वताउनुभयो । सो फर्ममा १ लाख २० हजार लेयर्स कुखुरा रहेका छन् ।
बर्डफ्लुले कुखुरा मर्न थाले पछि कतिपय कृषकले बजारमा बिक्रि गर्दा रोग तिब्र फैलिएको अनुमान रहेको छ । सरकारी तवरबाट दिइने राहतको प्रकृयामा पर्खदाँ कुखुरा मरेर सकिने र केही बाँकी रहे तिनको राहत प्रति कृषक बिश्वत हुन नसक्दा कतिपय कृषकले कुखुरा बेचेको पाईएको छ । अनुगमनमा कडाई हुन नसकेका कारण रोग फैलिएको हो ।
बागमती प्रदेश कृषि तथा पशुपंक्षि बिकास मन्त्रालयका सचिब डा. शरण पाण्डेले केही कृषकले संक्रमण देखिन थाले पछि कुखुरा बिक्रि गर्दा रोग फैलिएको बताउनुभयो । जैबिक सुरक्षामा कृषकले ध्यान दिनुपर्ने उहाँको भनाई छ । यो प्रदेशमा सबैभन्दा वढि चितवन र त्यस पछि काठमाडौंमा रोग फैलिएको हो । पाण्डेका अनुसार मन्त्रालयले आफ्ना मातहतका कार्यालय मार्फत तिब्र परिक्षण गर्ने काम गरिरहेको छ । परिक्षण गरेर मात्र ढुवानी गर्न दिइएको उहाँले बताउनुभयो । यसबाट रोगि कुखुरा रोकिने पाण्डे बताउनुहुन्छ । भाइरस रोक्न नसकेमा रोग फैलिरहने भन्दै उहाँले सबैको साथ र सहयोगबाट मात्र रोग नियन्त्रमा ल्याउन सकिने बताउनुभयो ।
नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोख्रेलले नेपालमा भ्याक्सिनको अनुमती नदिदाँ ठुलो नोक्सान बेहोर्नु परेको बताउनुभयो । छिमेकी मुलुकहरुमा भ्याक्सिन लगाई रहेको भए पनि नेपालमा भ्याक्सिन रोकीदाँ रोग नियन्त्रणमा लिन नसकिएको उहाँले बताउनुभयो । पूर्बी क्षेत्रमा रोगको प्रकोप निकै वढि भएको भन्दै पोख्रेलले थलिएको पोल्ट्री व्यवसाय रोगका कारण थप प्रभावित बनेको बताउनुभयो । राज्यले तत्काल सम्बोधन गर्न नसके आत्मनिर्भर बनेको यो व्यवसाय धरासाही बन्ने पोख्रेलको भनाई छ । नेपालमा पोल्ट्री व्यवसायमा १ खर्ब ५० अर्ब भन्दा बढी लगानी भएको अनुमान छ ।
नेपालको पोल्ट्री व्यवसायको झण्डै आधा हिस्सा चितवनमा रहेको छ । धेरै कुखुरा भएकै ठाउँमा बर्डफ्लुको प्रकोप देखिए पछि नोक्सान बढी भएको हो । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले भेटेनरीमा तथ्याङ्कमा नआएका धेरेको कुखुरा रोगका कारण मरेका बताउनुभयो । रोगकै कारण करोडौंको क्षती कृषकले बेहोरेको उहाँको भनाई छ । पुनः कुखुरा पाल्न समेत नसक्ने अबस्थामा कृषक पुगेको उहाँ बताउनु हुन्छ । हाल सम्मकै संकट ग्रस्त अबस्थामा पोल्ट्री व्यवसाय पुगेको लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !