चितवनः कालिका नगरपालिकाको नेतृत्वका लागि सत्तागठबन्धनका उम्मेदवारहरुको चुनावी घरदैलो तीव्र बनेको छ । सत्तागठबन्धनबाट कांग्रेसका शिवराम केसी मेयरमा, माओवादी केन्द्रबाट सविता लामा उपमेयरको उम्मेदवार हुनुहुन्छ । आज पदमपुरका विभिन्न टोल तथा चोकहरुमा घरदैलो गरिएको छ ।
मेयर–उपमेयरका उम्मेदवार केसी र लामाले कालिका नगरपालिकालाई भ्रष्टाचारमुक्त पालिका बनाउने प्रतिवद्धता जनाउनुभएको छ । मेयरका उम्मेदवार केसीले एक रुपैयाँ पनि घुस खाने र माग्ने काम जनप्रतिनिधि र कर्मचारीबाट हुन नदिने बताउनुभयो । उपमेयरकी उम्मेदवार लामाले भ्रष्टाचार रहित पालिकाका रुपमा देशभर चिनाइने दाबी गर्नुभयो ।क्लव चोकमा आयोजित कोणसभामा कांग्रेस चितवनका निर्वतमान सभापति जीतनारायण श्रेष्ठ, माओवादी केन्द्रका प्रदेश कमिटि सचिवालय सदस्य विवेक डल्लाकोटी लगायतले मन्तव्य राख्नुभएको थियो । केसी ४७ सालदेखि पोल्ट्री क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । नेपाल अण्डा उत्पादक संघ केन्द्रीय अध्यक्ष, नेपाल दाना उद्योग संघका पूर्व केन्द्रीय सचिव, पोल्ट्री महासंघका पूर्व केन्द्रीय सचिव हुनुहुन्छ ।
कांग्रेसमा हाल उहाँ प्रदेश प्रतिनिधि हुनुहुन्छ । किसानका लागि उच्च प्राथमिकता राखेर कृषि, पशुपंक्षीपालनका युवाहरुलाई प्रेरित गर्ने योजनाहरु ल्याइने बताउनुभयो । उपमेयरका उम्मेदवार लामा २०७४ मा पनि उपमेयरको उम्मेदवार हुनुहुन्थ्यो । उहाँ पूर्वजनमुक्ति सेना हुनुहुन्छ । २०५८ देखि भूमिगत भएर उहाँ जनमुक्ति सेनामा लाग्नुभएको थियो ।
२०६० मा जलवीरे झडपमा परी उहाँले श्रीमान सूर्यविक्रम थापालाई गुमाउनुभएको छ । उहाँ माओवादी केन्द्र कालिका नगर कमिटिको अध्यक्ष पनि हुनुहुन्छ । उहाँ ६ वर्ष शक्तिखोरको क्याण्टोमेण्टमा बस्नुभएको थियो । जनमुक्ति सेनाबाट स्वेच्छिक अवकास लिएपछि संगठन विस्तार तथा निर्माण क्रियाशिल हुनुहुन्छ ।







