चितवनः स्थानिय तहको निार्वचन नजिकिदैं जाँदा व्यवसायीक क्षेत्रमा चहलपहल वढ्न थालेको छ । मुख्य रुपमा होटल रेष्टुरेन्टका व्यापार वढ्न थालेका छन् । यसको प्रत्यक्ष लाभ उत्पादन क्षेत्रले पनि पाउन थालेका छन् ।
पछिल्ला बर्षहरुमा निर्वाचनको समयमा खर्च वढि हुने गरेको छ । स्थानीय तहको निर्वाचन भएकाले गाउँ टोलमा रहेका होटल रेष्टुरेन्ट देखि सहरका ठूला होटल रेष्टुरेन्टहरुमा पनि यसको प्रभाव देखिन थालेको हो । जिल्लाका पर्यटन व्यवसायी समेत रहनु भएका उद्योग परिसंघ बागमती प्रदेशका अध्यक्ष भेषराज दुवाडी निर्वाचनको चहलपहल सुरु भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “ऋण धन गरेर पनि उम्मेदवारले खर्च गर्ने हुँदा यसले बजार व्यवसायलाई चलायमान बनाउँछ ।” बैंक र बित्तिय क्षेत्र भन्दा बाहीर रहेका नगद रकमहरु समेत निर्वाचनमा आउने अनुमान रहेको उहाँको भनाई छ । उहाँले थप्नुभयो “यसको नतिजा निर्वाचन पछि देखिन्छ ।” होटल रेष्टुरेन्टहरुमा ग्राहक थपिएका दुवाडी बताउनुहुन्छ ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले आर्थिक क्षेत्र चलायमान हुन थालेको बताउनुभयो । बजारको चहलपहल कम भएकोमा क्रमश वढ्दै गएको उहाँ बताउनुहुन्छ । होटल रेष्टुरेन्टको व्यापार वढे संगै यसको प्रत्यक्ष प्रभाव उत्पादन क्षेत्रमा पर्ने श्रेष्ठको भनाई रहेको छ । उहाँले भन्नुभयो “निर्वाचनको समयमा पैसा बजारमा आउँदै गर्दा समग्र अर्थतन्त्रमा यसको लाभ पुग्छ ।” बिगतका निर्वाचनहरुमा पनि चलायमान हुने गरेको भन्दै उहाँले चुनाबको मिति नजिकिदैं गर्दा बजार थप चलायमान वन्ने बताउनुभयो ।
देशभरबाट हेरीएको निर्वाचन भएकाले भरतपुरमा चुनाबी चहलपहल वढि हुने अनुमान रहेको छ । रेष्टुरेन्ट एण्ड बार एशोसीएशन चितवनका अध्यक्ष अच्यूत भट्टले साना रेष्टुरेन्टहरुको व्यापार राम्रो हुन थालेको बताउनुभयो । गाउँगाउँमा रहेका साना रेष्टुरेन्टहरुमा पनि चहलपहल वढेको छ । भट्टले भन्नुभयो “ठूला होटल रेष्टुरेन्टहरुमा पनि व्यवसाय बढ्ने अनुमान हाम्रो रहेको छ ।” एशोसीएशनकी उपाध्यक्ष अनुशा पाठकले आशातित् व्यापार भई नसके पनि संकेत राम्रो भएको बताउनुभयो । सुनसान जस्तै भएकोमा क्रमश मानिसहरुको चहलपहल बढ्न थालेको पाठकको भनाई छ ।
बजार चलायमान हुँदै गर्दा कुखुरा जन्य उत्पादनको माग बढ्न थालेको छ । मुख्य रुपमा अण्डा र मासुको माग बढेको व्यवसायीहरुले बताएका छन् । पोल्ट्री व्यवसायी शंकर कंडेलको भनाईमा अण्डा र मासुको माग बढेको छ । बिचको समयमा कुखुरा जन्य पदार्थको माग घट्दा मूल्यमा कमि आएको थियो । अब क्रमशः पूर्बबत अबस्थामा अण्डाको मूल्य फर्कने अबस्थामा रहेको छ । बजारमा अण्डाको माग बढे संगै मुल्य पनि वढेको व्यवसायीले बताएका छन् । अण्डा उत्पादक कृषक मदन पोख्रेलले यस अघि प्रतिक्रेट रु ३ सय ३० मा बिक्रि हुँदै आएको अण्डा आजबाट रु ३ सय ८० मा बिक्रि हुन थालेको बताउनुभयो । अण्डा दिए पछि बिक्रि गर्ने माउ कुखुरा प्रतिकिलो रु १ सय १० वाट रु १ सय ५० पुगेको छ । बजारमा कुखुराको मासुको अभाव हुन थालेको व्यवसायी बताउँछन् । बिचको समयमा बर्डफ्लुका कारण कुखुरा मरे पछि यसको प्रभाव बजारमा देखिन थालेको हो । माग वढि र उत्पादन कमी हुँदा समस्या देखिएको व्यवसायी वताउँछन् ।






