चितवनः भरतपुरमा कोठा भाडामा लिएर राखिएको परिवारलाई पाल्न यातायात मजदुर विष्णु विकलाई दैनिक चलाउन मुस्किल छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन नारायणगढ पुल्चोकमा भेटिनु भएका विकले दैनिकी गुजारामा चलाउने गर्नुभएको छ । दुई छोराछोरी र श्रीमतीलाई बसमा सहचालक वापत पाउने तलब र भत्ताले बिहान र बेलुकाको गर्जाे टार्न मुस्किल छ ।

विकले गुनासो गर्दै भन्नुभयो “राम्रो लगाउन र मिठो खानेकुरा नगर्नुहोस्, कोभिडको बेलाको ऋण तिर्न नसकेर घर बस्ने नसकिने भएको छ ।” मासिक मुस्किलले पाईने रु.१५ हजारले के गर्ने ? कोठाभाडा, दैनिक रासन, छोराछोरीलाई कपिकिताब पु¥याउन कठिन छ, उहाँले गुनासो गर्नुभयो ।

उहाँले बस चलेको दिन दैनिक पाँच सय भत्ता र मासिक रु.३ हजार तलब पाउने भए पनि दैनिक बस संचालन नहुँदा कमाई राम्रो नहुने बताउनुभयो । उहाँले भन्नुभयो “बसको पालो अनुसार काम पाईन्छ । बस नचलेको दिन काम पनि हुँदैन ।”

भरतपुरको चौबीसकोठीमा ना ६ ख ९५६१ नम्बरको बसका सहचालक केशव काफ्लेको गुनासो पनि विकको जस्तै छ । उहाँले भन्नुभयो “गाडी चलेको दिन खाने हो नत्र भोकै बस्नुपर्ने अवस्था छ ।” भत्ताको भरमा काम गर्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “गाडी चलेका दिन खाने हो नत्र भोक्कै बस्नु पर्ने अवस्था पनि आउँछ कहिले काही ।”

भरतपुरका बिभिन्न क्षेत्रमा ई–रिक्सा सञ्चालन गर्दै आउनु भएका रुद्रप्रसाद तिमिल्सिना अहिले दैनिक गुजारा चलाउन कठिन भएको गुनासो गर्नुहुन्छ । विगत ७ वर्षदेखि रिक्सा चलाउँदै आउनु भएका तिमिल्सिना बढ्दो महंगीका कारण दैनिक कमाईले खान बस्न समेत कठिन बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो “कमाई खासै छै । पहिला दैनिक रु दुई हजार हाराहारी कमाई हुन्थ्यो । अहिले झरेर सात सय पु¥याउन पनि मुस्किल छ । यसले के खाने के लगाउने ।” पहिला रु १ हजार ५ सयमा पाईने कोठा अहिले बढेर ३ हजार ५ सय भन्दा बढि भईसकेको बताउँदै उहाँले यसरीनै महंगी बढ्दै गए स्वरोजगार बनेको पेशाबाट पलायन बन्नु पर्ने स्थिति आउने बताउनुभयो ।

एक दशकदेखि भरतपुरको चौबिसकोठिमा मोचीको काम गर्दै आउनु भएका रामजतन रामको पीडा पनि उस्तै छ । बाराको देवताल गाउँपालिकाबाट चितवन आएर जुत्ता चप्पल सिलाउने काम गर्दै आउनु भएको उहाँले अहिलेको महंगीका कारण एक्लो जीवन चलाउन समेत कठिन बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो “कहिले काही त खाना खान समेत सापटी माग्नु पर्ने अवस्था छ ।” पहिला पहिला दैनिक ७ सय सम्म कमाई हुने गरेको भए पनि अहिले त्यस्तो अवस्था नरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “घरका सदस्य बिरामी परे भने ऋण खोजेर उपचार गर्नु पर्ने अवस्था आउँछ ।”

भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित अस्पताल रोडमा फलफुलको ठेला धकेली रहनु भएका गोविन्द भट्टराई दिनभारी व्यापार गरेर पनि खासै कमाउन नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “व्यापार गर्न सडकमा झरे पछि नगरपालिका, ट्राफिक प्रहरी र टोलसुधारले लखेट्ने गरेका छन् । अनि कसरी व्यापार गरेर खान सकिन्छ ।” दैनिक ५ सय देखि ७ सय मात्रै कमाई हुने गरेको भन्दै उहाँले तीन वर्षदेखि आफ्नै व्यवसाय गरौं भनेर लागेको तर छोराछोरी पढाउन कठिन भएको बताउनुभयो ।

ट्रेड युनियन कांग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटा अहिलेको मजदुरको न्यूनतम तलबले एक्लै पनि पालिन नसक्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो “मासिक रु.१५ हजार तलबले कस्को परिवार पालिन्छ ?” त्यसमाथि चुलिएको महंगिका कारण मजदुरहरुको जीवनयापन असहज बनेको उहाँको भनाई छ ।

काम नहुँदा बेतलवी विदा दिने परिपाटी बढेको भन्दै उहाँले धेरै उद्योगले १५ दिन काम दिने र १५ दिने वेतलवी विदा दिने गरेको सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो “राज्यको नीति नै मजदुरमैत्री छैन ।” न्यूनतम पनि रु.२० हजारभन्दा घटीले मजदुर चल्न नसक्ने सापकोटा बताउनुहुन्छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघ चितवनका अध्यक्ष यदुमणि कँडेल क्षमता अनुसारको पारिश्रमिक मजदुरले पाउनु पर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो “काम गरेको पारिश्रमिकले परिवार चल्नुपर्छ ।” एउटा परिवार पालिनका लागि मासिक रु.२५÷३० हजार खर्च हुने गरेको भन्दै उहाँले महंगीका कारण मजदुर मारमा परेको बताउनुभयो । ठेकेदारी प्रथाले मजदुरलाई प्रभावित बनाएको उहाँको ठम्याई छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) भरतपुरका अध्यक्ष रुद्र उप्रेती अहिलेको पारिश्रमिकले परिवार पाल्न मजदुरले नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “कम्तीमा पनि रु.२० हजार भएन भने परिवार चल्दैन ।” मजदुरको परिवार पालिने गरी पारिश्रमिक दिने व्यवस्था हुनुपर्ने उप्रेतीको भनाई छ । बेतलवी विदा दिने परिपाटिले मजदुर झन बढी प्रभावित भएको उहाँले बताउनुभयो ।

सबै क्षेत्रका मजदुरहरु पछिल्लो समयको महंगीको कारण थप प्रभावित भएको उनीहरुको भनाई रहेको छ । महंगीको अनुपातमा ज्याला र पारिश्रमिक बृद्धि गर्दै लैजानु पर्नेमा सबैको जोड थियो ।

प्रतिक्रिया दिनुहोस !