चितवनः उम्मेदवारी फिर्ता लिन चर्को दबाब परे पनि नेपाली काँग्रेसका नेता एबं भरतपुर महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार नेता जगन्नाथ पौडेलको उम्मेदवारी कायम भएको छ । पार्टीका केन्द्रिय नेताले निकै प्रयास गरेको भए पनि फिर्ता लिने अन्तिम समय आज साँझ ५ बजे सम्म उहाँको उम्मेदवारी फिर्ता नभएको हो ।
उम्मेदवारी फिर्ता नलिन दबाब दिदै पौडेल निवासमा बिहानै देखि नेता कार्यकर्ताको भिड लागेको थियो । पाँच दलिय गठवन्धनका तर्फबाट माओवादी केन्द्रकी नेता रेनु दाहाल भरतपुर महानगरपालिकाको प्रमुखमा उम्मेदवार हुनुहुन्छ । गठवन्धन भित्रकै काङ्ग्रेसका नेता पौडेलले स्वतन्त्र उम्मेदवारी दिए पछि फिर्ता गराउन प्रयास गरिएको थियो । पौडेलले आफ्नो उम्मेदवारी रुख तथा चार तारे झण्डा बिरुद्ध नभएर लोकतान्त्रीक पद्धतीको प्रयोग र प्रबर्धनमा केन्द्रीत रहेकाले फिर्ता नलिएको बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जगनाथ पौडेलको उम्मेदवारी फिर्ता नभएको बताउनुभयो । पौडेललाई उम्मेदवारी फिर्ता लिन नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल सहितका नेताले टेलिफोनमा आग्रह गर्नु भएको थियो । देउवाले काङ्ग्रेसका नेता बालकृष्ण खाँड र केन्द्रिय सदस्य उमेश श्रेष्ठलाई जिल्ला पठाउनु भएको थियो । पौडेलका अनुसार उहाँलाई गठवन्धन मध्येको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताले समेत उम्मेदवारी फिर्ता लिन अनुरोध गरेका थिए ।
यस अघि पनि भरतपुरमा प्रमुखमा दाहाल रहेकाले यसपटक नेपाली काङ्ग्रेसलाई प्रमुख दिनुपर्ने पौडेलको माग थियो । नेकपा एमालेका तर्फबाट महानगरमा बिजय सुवेदी प्रमुख पदमा उम्मेदवार हुनुहुन्छ ।
पौडेलले उम्मेदवारी दिँदा नेपाली काङ्ग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकोटा प्रस्तावक र कांग्रेस महासमिति सदस्य मिना खरेल समर्थक रहनु भएको छ । पौडेल विसं. २०४९ सालको स्थानीय चुनावमा तत्कालिन भरतपुर नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनु भएको थियो । बरिष्ठ अधिबक्ता पौडेल राष्ट्रिय सभाको सदस्य भई सक्नु भएको छ ।






