चितवनः नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचनको समयमा पत्रकारहरुले मिथ्या समाचार र अफवाह फैलाउन नहुने बताउनु भएको छ । नेपाल पत्रकार महासंघले सौराहामा शुरु गरेको स्थानीय तह निर्वाचन, रिपोर्टिङ प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले सामाजिक सञ्जाल मार्फत पनि अफवाह नफैलाउन आग्रह गर्नुभएको हो ।
“समाचारमा मात्रै होइन, सामाजिक सञ्जालमा कुन्ठा पोख्ने काम बन्द गर्नुपर्छ” उहाँले भन्नुभयो “हाम्रो समाचार र सामाजिक सञ्जालका पोष्टले पार्टीको दुई भोट त बढ्ला तपाई हाम्रो विश्वसनीयता घट्छ ।” पत्रकारले मतदातालाई दिग्भ्रमित पार्न नहुने उहाँको भनाई थियो ।
संविधान पदत्त नागरिकको मतदान गर्ने अधिकारलाई सुनिश्चित गर्ने काममा लाग्न उहाँले आग्रह गर्नुभयो । विना त्रास मतदानस्थलसम्म पुग्न र आफूले चाहेको मतदान गर्ने वातावरण सिर्जना गर्ने भूमिका अहिले पत्रकारको हुनुपर्ने उहाँले बताउनुभयो । निष्पक्ष निर्वाचन हुन सके मात्रै लोकतन्त्र जीवन्त रहने पोखरेलको भनाई छ ।
सो अवसरमा महासंघका केन्द्रीय सचिव सिर्जना अर्याल, प्रशिक्षक चिरञ्जीवि अर्याल, कार्यक्रम संयोजक सुनिल खड्का लगायतले बोल्नु भएको थियो । प्रशिक्षण कार्यक्रममा बागमती र गण्डकी प्रदेशका ३० जना पत्रकारहरुको सहभागिता रहेको छ ।
महासंघले सौराहा, ईटहरी र नेपालगञ्जमा सात प्रदेशका पत्रकारहरुलाई एकै पटक प्रशिक्षण शुरु गरेको हो । दुई दिने प्रशिक्षमा स्थानीय स्तरमा कार्यरत पत्रकारहरुलाई निर्वाचनको समग्र प्रक्रिया र यो अवधिमा पत्रकारको भूमिकाका बारेमा जानकारी दिईने छ । यस्तै निर्वाचनको बेला रिपोर्टिङ गर्न सकिने विषय वस्तु, निर्वाचनका बेला रिपोर्टिङ गर्दा देखिन सक्ने पक्षधरताका बारेमा जानकारी गराउने छ । पत्रकार आचार संहिता रनिर्वाचन आचार संहिताबारे समेत जानकारी दिईने छ ।






