भरतपुर । नेकपा एमालेले सातवटै स्थानीय तहको प्रमुख र उपप्रमुखमा उमेदवारी टुङ्ग्याएको छ । तर, उसले आइतबार उमेदवारी मनोनयन गराएको छैन । निर्वाचन आयोगको तालिकाअनुसार आइतबार र सोमबार दुई दिन उमेदवारी दर्ताको समय हो । एमालेले आज सोमबार १० बजे मनोनयन दर्ता गर्ने एमाले जिल्ला उपाध्यक्ष कमल पाठकले जानकारी दिए ।

एमालेले भरतपुर र माडीको उपप्रमुख खाली राखेको छ । भरतपुरको प्रमुखमा विजय सुवेदी र माडीको प्रमुखमा तत्कालीन उपप्रमुख ताराकाजी कुमारी महतो रहेका छन् । राप्ती नगरप्रमुखमा गोविन्द कँडेल र उपप्रमुखमा मेनका पाठक छन् । पाठक यसअघि वडा अध्यक्ष थिइन् ।

खैरहनीका प्रमुख लालमणि चौधरी दोहोरिएका छन् । उपप्रमुखमा कविता उप्रेती छन् । रत्ननगरको मेयरमा तत्कालीन उपमेयर विमला दुवाडी र उपमेयरमा यादव पाठक छन् । कालिकाको मेयरमा यसअघिका वडाध्यक्ष विनोद रेग्मी र उपमेयरमा विमला लामा छिन् । इच्छाकामनाको प्रमुखमा दानबहादुर गुरूङ र उपप्रमुखमा माया सिलवाल उमेदवार बन्ने एमाले चितवनका प्रचार विभाग प्रमुख रविकिरण पौडेलले जानकारी दिए ।

त्यस्तै, गठबन्धन दलहरुबाट पनि मनोनयन हुन सकेन । गठबन्धनले जिल्लामा कुन पालिकाको कुन पदमा कुन पार्टीको उमेदवार रहने भन्ने पक्का गरे पनि सम्बन्धित पार्टीले उमेदवार भने किटान गर्न सकेका छैनन् । ठूला दलहरुको उमेदवारी आज सोमबार हुने देखिएको छ ।

इच्छाकामना, माडी, खैरहनी, कालिका, राप्ती, रत्ननगरमा गठबन्धनले प्रमुख तथा उपप्रमुख टुङ्गो लगाउन सकेको छैन । भरतपुरमा भने माओवादी केन्द्रको तर्फबाट भरतपुरकी तत्कालीन मेयर रेनु दाहालको नाम पक्का भएको छ । तर, उपप्रमुख पाएको कांगे्रेसले उमेदवारको नाम पक्का गर्न सकेको छैन ।

भरतपुरमा ४८ जनाको उमेदवारी

भरतपुर महानगरपालिकाको लागि आइतबार ४८ जनाको मनोनयन दर्ता भएको छ । महानगरको मेयरमा नेपाल मजदुर किसान पार्टीका हरिप्रसाद दुवाल, नेकपा मालेबाट सूर्यप्रसाद रेग्मी, राष्ट्रिय जनमुक्ति पार्टीका ज्ञानबहादुर गुरूङ, मंगोल नेसनल अर्गनाइजेसनका टेकबहादुर पुनमगर, मौलिक जरोकिलो पार्टीका विनोदकुमार गिरी, उन्नत लोकतन्त्र पार्टीका दीपेन्द्र बास्तोलाले उमेदवारी दिएका छन् ।

त्यस्तै, स्वतन्त्रतर्फबाट रामकृष्ण ओझा, हरिश्चन्द्र घिमिरे, मोहित पाण्डे, यामकान्त शर्मा कँडेल र रूद्रप्रसाद सापकोटा रहेका छन् । प्रमुखमा उमेदवारी दिने सबै पुरूष हुन् । त्यस्तै, उपप्रमुखमा तीन जनाको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले जानकारी दिए । उपमेयरमा राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना थापा मगर, मंगोल नेसनल अर्गनाइजेसनका सुस्मा तामाङ र नेकपा मालेबाट निर्मला गौलीको उमेदवारी दर्ता भएको छ ।

विभिन्न वडाध्यक्षहरुमा १५ जना र वडा सदस्यहरुमा १५ जना र महिला वडासदस्यहरुमा चार जनाको उमेदवारी दर्ता भएको छ ।

माडीमा चार जनाको उमेदवारी

माडी नगरपालिकामा नागरिक राष्ट्रिय पार्टीले उमेदवारी दर्ता गराएको छ । निर्वाचन अधिकृत चूडामणि शर्माका अनुसार उक्त पार्टीका पूर्ण सुवेदीले प्रमुख, सिलाकुमारी बोटले उपप्रमुखमा र वडा नं–३ को अध्यक्षमा मदन साहले उमेदवारी दिएका छन् । वडा नंं–६ बाट भने गौरीशङ्कर ढकालले स्वतन्त्ररुपमा वडा अध्यक्षमा उमेदवारी दिएका छन् ।

इच्छाकामनामा चार जनाको उमेदवारी

इच्छाकामना गाउँपालिकामा नेपाल मजदुर किसान पार्टीले प्रमुख र १ वडा अध्यक्षसहित ४ सदस्यमा उमेदवारी दिएको छ । निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार स्वतन्त्र र अन्य पार्टीबाट उमेदवारी परेको छैन ।

एमालेले टिकट नदिएपछि वडाध्यक्षमा स्वतन्त्र उमेदवारी

खैरहनी नगरपालिकामा पहिलो दिन आइतबार एक जनाको मात्र मनोनयन दर्ता भएको छ । खैरहनीका लागि निर्वाचन अधिकृत सरस्वती पौडेलका अनुसार खैरहनी–८ को वडाध्यक्षका लागि स्वतन्त्र उमेदवार टेकबहादुर थापा क्षेत्रीले मनोनयन दर्ता गराएका हुन् । नेकपा एमालेले टिकट नदिएपछि उनले स्वतन्त्ररुपमा उमेदवारी दिएका हुन् ।

क्षेत्री २०७४ को स्थानीय तह निर्वाचनमा खैरहनी–८ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनले आइतबार नगरप्रमुख लालमणि चौधरीलाई राजीनामा पत्र बुझाएका थिए । खैरहनी एमाले, गठबन्धनमा आबद्ध दलहरु र अन्यले आज सोमबार मनोनयन दर्ता गराउनेछन् । एमालेबाट सो नगरपालिकामा केही वडाध्यक्षको उमेदवार सर्वसम्मत गरे पनि धेरै वडामा बाँकी छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले कुन वडा पाउने भन्नेमा विवाद रहेकाले उमेदवार तोक्न सकेका छैनन् ।

राप्तीमा १३ जनाको उमेदवारी

राप्ती नगरपालिकामा प्रमुख पदका लागि आइतबार दुई पार्टीसहित तीन जनाको उमेदवारी परेको छ । केही स्वतन्त्र व्यक्तिहरुले वडा अध्यक्ष र सदस्यमा उमेदवारी दिएको राप्ती नगरपालिका निर्वाचन अधिकृत श्यामप्रसाद दाहालले बताए ।

नगरप्रमुखका लागि नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी र मौलिक जरोकिलो पार्टीले उमेदवारी दर्ता गराएका दाहालले बताए । तीन जना प्रमुखको उमेदवारसहित १३ जनाले पहिलो दिन मनोनयन दर्ता गराएका उनले बताए ।

रत्ननगरको मेयरमा तीन जनाको उमेदवारी

रत्ननगरको मेयरमा आइतबार तीन जनाले उमेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताको पहिलो दिन मजदुर किसान पार्टीका पुनाराम शर्मा, जनता समाजवादी पार्टीका यदुकृष्ण भट्ट र मंगोल नेसनल अर्गनाइजेसन पार्टीका धनबहादुर थिङले मेयरमा उमेदवारी दर्ता गराएको निर्वाचन अधिकृत विनोदकुमार गौतमले जानकारी दिए ।

त्यस्तै, उपमेयरमा दुई जनाले उमेदवारी दिएका छन् । जनता समाजवादी पार्टीबाट गोमादेवी देवकोटा र मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट ईश्वरी गुरूङले उपमेयरमा उमेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै, वडाध्यक्षमा एक स्वतन्त्रसहित तीन जनाले उमेदवारी दिएका छन् । वडा नं–१६ को वडाध्यक्षमा हरिकृष्ण श्रेष्ठले स्वतन्त्ररुपमा उमेदवारी दिएका हुन् । वडा नं–११ मा नेपाल मजदुर किसान पार्टीबाट मोहनबहादुर प्रजा, सोही वडामा मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट शेरबहादुर गुरूङले वडाध्यक्षमा उमेदवारी दिएका छन् ।

महिला सदस्यमा वडा नं–११ बाट मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट सुस्मिता सार्की, वडा नं–१६ मा स्वतन्त्रबाट रुपादेवी कार्की खनाल, वडा नं–३ मा जनता समाजवादी पार्टीबाट गोमादेवी दुवाडीले उमेदवारी दिएका छन् । त्यस्तै, खुल्ला सदस्यमा वडा नं–१६ बाट स्वतन्त्ररुपमा देवकुमार गुरूङ, वडा नं–२ बाट जनता समाजवादी पार्टीका ललन ठाकुरले उमेदवारी दिएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज सोमबार पाँच बजेसम्म उमेदवारी दिने समय रहेको निर्वाचन अघिकृत गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !