चितवनः चितवन राष्ट्रिय निकुञ्जमा साउन यता ३४ गैंडा मरेका छन् । दुई वटा चोरीशिकारीबाट मारिएको अनुमान छ भने अन्य प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणबाट ३३ वटा गैंडा मरेका थिए । सबैभन्दा बढी एकै वर्षमा प्राकृतिक कारणबाट ४३ वटासम्म गैंडा मरेको तथ्यांक छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सबैभन्दा बढी जुधेर गैंडा मरेका छन् । बुढो भएर, बाघको आक्रमणबाट, दलदलमा फसेर, खाल्डोमा परेर गैंडा गरेको उहाँले जानकारी दिनुभयो ।

गैंडाको संख्या बढेसँगै प्राकृतिक कारणले मर्ने संख्या पनि बढ्दै गएको उहाँको भनाई छ । निकुञ्जले प्राकृतिक कारणबाट गैंडाको मृत्यु घटाउन आवश्यक सावधानी अपनाउने काम भईरहेको तिवारी बताउनुहुन्छ । वर्षाको समयमा प्राकृतिक कारणबाट धेरै गैंडा मर्ने गर्दछन् । निकुञ्जको पश्चिमी क्षेत्रमा गैंडाको संख्या बढी हुँदा प्राकृतिक मृत्यु त्यसै क्षेत्रमा बढी हुने गरेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले पश्चिमी क्षेत्रको गैंडालाई पूर्वमा स्थानान्तरण गर्ने विषयमा छलफल भईरहेको बताउनु भएको छ । पानी र घाँसे मैदान व्यवस्थापन राम्रो गरेर पश्चिमका केही गैंडा पूर्व लान सकेमा प्राकृतिक मृत्यु केही घटाउन सकिने निकुञ्ज प्रशासनको अनुमान छ ।

पछिल्लो गणना अनुसार चितवनमा ६९४, बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा तीनवटा गैँडा रहेका छन् । कूल संख्या ७५२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस !