चितवनः आयात नरोकिंदा नेपाली औषधि उद्योगहरु आधा क्षमतामा संचालन हुन बाध्य भएका छन् । भारत सहितका देशहरुबाट निर्वाध रुपमा औषधि आयात हुँदा स्वदेशी उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका हुन् ।
उद्योग पूर्ण रुपमा संचालन गर्न नपाउँदा समस्यामा परेको व्यवसायीहरु बताउँछन् । नेपालमा ७२ वटा उद्योग संचालनमा रहेका छन् । ३२ वटा नयाँ उद्योग स्थापनाको क्रममा छन् ।
नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष दिपक दाहाल नेपाललाई आवश्यक पर्ने ७५ प्रतिशत औषधि अहिलेकै अवस्थामा उत्पादन गर्न सकिने बताउनुहुन्छ । उहाँले भन्नुभयो “सरकारले नेपालमा उत्पादन हुने औषधि आयात रोकेमा मुद्रा विदेशीनबाट रोकिन्छ ।”
नेपाली बजारमा भारतीय औषधिको हिस्सा ५० प्रतिशत छ । ४५ प्रतिशत स्वदेशी छ भने पाँच प्रतिशत तेस्रो मुलुकको छ । दाहालले भन्नुभयो “सरकारले सित्तैमा बाढ्ने ९६ प्रतिशत औषधि हामी यही उत्पादन गर्न सक्छौं ।”
औषधिको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार अध्ययन गर्दै आउनु भएका दाहाल भारतीय उत्पादन हाम्रो मुख्य प्रतिस्पर्धी भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “विश्व औषधि बजारको कूल उत्पादनको परिणामको आधारमा भारत तेस्रो र मूल्यका आधारमा १४ औं स्थानमा पर्दछ ।” भारत १० औं औषधि निर्यातक देश भएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “भारतको औषधि उत्पादनको ०.९ प्रतिशत बराबरको नेपालको औषधि बजार हो ।”
संघका अध्यक्ष प्रदिपजंग पाण्डे नेपालमा केही बाहेक औषधिमा आत्मनिर्भर हुन सकिने बताउनुहुन्छ । उहाँले सरकारको नीतिमा गुणस्तरीय औषधि र स्वास्थ्य सामग्रीको सहज तथा प्रभावकारी आपूर्ति एवं उपयोगलाई सुनिश्चित गर्दै आन्तरिक उत्पादनलाई बढावा दिएर आत्मनिर्भरतर्फ उन्मुख हुने भनिए पनि कार्यान्वयन नभएको बताउनुभयो ।
औषधिको उत्पादनमा देशलाई आत्मनिर्भर बनाईने, आवश्यक पर्ने अत्यावश्यक औषधिहरु उत्पादन गरी आपूर्ति गर्ने व्यवस्था नीतिमा भएको पाण्डेको भनाई छ । उहाँले भन्नुभयो “नीति र रणनीतिमा भएर पनि कार्यान्वयन हुन नसक्दा नेपाली उद्योगले सोचे जति काम गर्न सकेका छैनन् ।”
संघका निवर्तमान अध्यक्ष जी नारायणबहादुर क्षेत्री नेपाली औषधि उद्योगहरुको मुख्य चुनौती आयात नरोक्नु रहेको बताउनुहुन्छ । नेपालमा पाँच वा पाँचभन्दा बढी कम्पनीले उत्पादन गर्ने औषधि आयात रोक्ने ऐन बनेपनि त्यसलाई कार्यान्वयन गराउन नसक्नु दुर्भाग्यपूर्ण भएको उहाँको भनाई छ ।
नेपाली उद्योगले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको गुणस्तरीय औषधि उत्पादन गर्दै आएको बताउँदै उहाँले भन्नुभयो “सरकारले नेपाली उद्योग फस्टाउने नीति लिन सकेन ।”
सरकारी सहुलियत र सहजीकरणमा कमी रहेको, नियमनकारी निकायले स्वदेशी उद्योगप्रति भेदभाव गर्ने गरेको, सहजकर्ताको उपलब्धता नहुने नेपाली औषधि उद्योगका चुनौती रहेको उहाँ बताउनुहुन्छ । अनुसन्धान र विकासमा साधनस्रोतको कमी र विद्यमान सरकारी स्रोत साधनको परिचालन नहुँदा समस्या भएको क्षेत्रीले बताउनुभयो ।
संघका उपाध्यक्ष सन्तोष बराल विदेशी मुद्रा संचिती घटिरहेको समयमा राज्यले औषधिमा आत्मनिर्भर हुने नीति कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्ने बताउनुहुन्छ । उहाँले अहिलेकै उद्योगहरुले ७५ प्रतिशत माग धान्न सक्ने क्षमता रहेको बताउँदै नेपालमा उत्पादन हुने औषधिको आयात तत्काल रोक्न माग गर्नुभयो ।
नेपाली औषधि उद्योगहरुले निर्यात समेत गर्न लागेको जानकारी दिंदै अधिकारीले नेपालमा सन् २०३३ सम्म पेटेन्ट औषधिको जेनेरिक बनाउन सक्ने हुँदा त्यसलाई अवसरको रुपमा प्रयोग गर्नुपर्ने बताउनुहुन्छ । औषधि उत्पादनको क्षेत्रमा नयाँ प्रविधिको विकास भईरहेको बताउँदै उहाँले उद्योगहरुलाई सहुलियतपूर्ण ऋण, निर्माण सामग्रीमा भन्सार र मूल्य अभिबृद्धि कर छुट दिनुपर्ने बताउनुभयो ।
संघका महासचिव विप्लव अधिकारी राज्यको नीतिका कारण कतिपय तयारी वस्तुभन्दा कच्चा पदार्थ महंगो पर्ने गरेको बताउनुहुन्छ । यस्ता वस्तुहरुको खरिदलाई पहिचान गरी सरल र सर्वसुलभ बनाउनु पर्ने अधिकारीको भनाई छ ।
चितवनमा नेपाल फर्मा एक्स्पो २०२२ जारी रहेको छ । एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार उद्घाटन गर्दै औषधिको उत्पादन, बजारीकरण र वितरणलाई सम्बद्ध पक्षले गम्भीरतापूर्वक ध्यान पु–याउनु पर्ने बताउनुभएको थियो । उहाँले सार्वजनिक स्वास्थ्यलाई बलियो बनाउँदै नागरिकको जीवनस्तर माथि उठाउन यस उद्योगले प्रत्यक्ष भूमिका खेल्न सक्ने बताउनुभएको थियो ।
सकेसम्म धेरै किसिमका औषधि देशभित्रै उत्पादन गर्न सकेमा हाम्रो संविधानले प्रत्याभूति गरेको स्वास्थ्य सम्बन्धी मौलिक अधिकार कार्यान्वयन गर्न सहज हुने उहाँको भनाई थियो ।
एक्स्पोको अवसरमा शनिबार आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले उत्पादकहरुको समस्या समाधानका लागि थप छलफल गर्न सोमबार आयोगमा बोलाउनुभएको छ । सरकारले आयातलाई निरुत्साहित गरिरहेको समयमा उत्पादकहरुको माग अनुसार यहाँ उत्पादन हुने औषधिको आयात रोक्न सहज हुने बताउनुभयो ।






