चितवनः उद्योगी व्यवसायीहरुले सरकारले सहयोग गरेमा नेपाल औषधिमा आत्मनिर्भर हुन सक्ने बताएका छन् । नेपाल फर्मा एक्स्पो २०२२ को शुक्रबार यहाँ उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले नीतिगत रुपमानै स्वदेशी औषधि उद्योगलाई प्रबर्धन गर्नुपर्ने उनीहरुको भनाई छ ।
कतिपय देशले आफ्नो देशमा उत्पादन हुने औषधि आयातमा रोक लगाएको भन्दै उनीहरुले नेपालमा पनि यसको सिको गर्नुपर्नेमा जोड दिए । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मागको ५० प्रतिशत धान्न सक्ने अबस्थामा नेपाली औषधि उद्योग पुगेको भन्दै उहाँले स्वदेशी उद्योगलाई सरकारले प्रोत्साहन गर्न सकेमा ९० प्रतिशत आत्मनिर्भर बन्न सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “सरकारको नीति स्वदेशी उद्योग मैत्री हुनु प¥यो ।” जतिपनि ऐन कानुन छन् ती उद्योग व्यवसाय प्रोत्साहन हुने गरी बन्नुपर्ने उहाँको भनाई थियो । प्रतिकुलताका बिच नेपाली उद्योगले काम गर्नुपर्ने बाध्यता रहेको गोल्छाले बताउनुभयो । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले राज्यका तर्फबाट स्वदेशी उद्योगलाई अभिभावकत्व ग्रहण गरिदिनुपर्ने बताउनुभयो । औषधि उत्पादक संघका अध्यक्ष डा. प्रज्वलजंग पाण्डेले नेपाली औषधि निर्यात हुन थालेको भन्दै उहाँले सरकारले नीतिगत रुपमानै सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “सरकारले सहयोग गरेमा ९० प्रतिशत भन्दा वढि औषधि यही उत्पादन गर्न सक्छौ ।”
संघका निर्वतमान अध्यक्ष जी नारायण बहादुर क्षेत्रीले औषधिमा बिदेशमा भर पर्न नहुने भन्दै आत्मनिर्भर हुनका लागि सरकारी तवरबाट सहयोगको आव्हान गर्नुभयो । सबैले सुन्ने र हुन्छ भन्ने तर कसैले कार्यान्वयन नगर्दा नेपाली उद्योग समस्यामा रहेको उहाँको भनाई थियो । संघकै पूर्ब अध्यक्ष दिपक दाहालले नेपालमा ७२ वटा उद्योगले औषधि उत्पादन गरिरहेको र ३२ वटा स्थापनाको क्रममा रहेको भन्दै यहाँका उद्योगले अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा बिशेष ध्यान दिएको बताउनुभयो । अहिले केही उद्योगले ७५ प्रतिशत सम्म माग धान्न सक्ने भन्दै उहाँले यहाँ उत्पादीत औषधि आयातमा रोक लगाउनु पर्नेमा जोड दिनुभयो । भारत सरकारले भर्खरै मात्र औषधि उद्योगहलाई भारतीय रुपैंया १ खर्ब ५० अर्ब अनुदान दिएको उहाँले सुनाउनु भयो । एक्स्पोको उद्घाटन राष्ट्रपति बिद्यादेवी भण्डारीले गर्नु भएको हो ।
संघका महासचिव विप्लव अधिकारीले यस पटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अंगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “एक्स्पोले औषधि उत्पादनको प्रविधि र यसमा अपनाईएका संवेदनशीलताको बारेमा जनमानसमा सचेतना दिने छ ।” एक्स्पोले नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने, अझै प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उहाँको भनाई छ ।
औषधि प्राविधिक र फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रिय स्तरको नविन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको उहाँले बताउनुभयो । नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब (प्रयोगशाला), मेसिन, कच्चा पदार्थ, प्याकेजिङ्ग लगायतमा भएका विकासहरुको प्रत्येक दुई वर्षमा एक्स्पो गरिदैं आएको छ । सन् २०२१ मा हुने पर्ने एक्स्पो भने कोभिडका कारण हुन सकेन ।
यस पटकको आठौं संस्करणको एक्स्पोमा १६० स्टल रहने छन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका विभिन्न १२३ बहुराष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगहरुका स्टल एक्स्पोमा रहेका छन् । एक्स्पोका अवसरमा विभिन्न प्राविधिक गोष्ठी हुनेछन् । संघले शनिबार राष्ट्रिय योजना आयोग, औषधि उत्पादक, बिक्रेता, पत्रकारहरुबीच अन्तक्र्रिया कार्यक्रम गर्ने छ ।
एक्स्पोमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, नेपाल औषधि व्यवसायी संघ, नेपाल औषधि थोक व्यवसायी संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल फर्मास्युटिकल एसोसियसन र नेपाल फार्मेसी संघको आवद्धता रहेको छ । एक्स्पोका ३० हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको रहेको छ ।

प्रतिक्रिया दिनुहोस !