भरतपुर,८ बैशाख। नेकपा एमाले र कांग्रेसलगायत ठूला दलहरु गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने सहमति गरिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने यो निर्वाचनमा कसरी सहभागी हुने भन्ने विषयमा कुनै निर्णय लिएको छैन । जिल्ला तहमा भने केन्द्रीय समितिले जे भन्छ सोहीअनुसार निर्वाचनमा जाने भनेर तयारी गरिरहेको छ । तर, हालसम्म आधिकारिक धारणा सार्वजनिक नभए पनि चर्चा भने नेकपा एमालेसँग मिलेर निर्वाचनमा जाने भन्ने छ ।
चितवन जिल्लाका प्रचारप्रसार विभाग संयोजक जीवलाल पुरीका अनुसार राप्रपाले हाललाई एकलरुपमै निर्वाचनको तयारी गरिरहेको छ ।
‘अहिलेसम्म हामीले कुनै पनि दलसँग मिलेर जाने या एकल निर्वाचनमा जाने भन्ने विषयमा आधिकारिक निर्णय गरिसकेका छैनौँ’, उनले भने, ‘पार्टीभित्र आन्तरिक छलफल चलिरहेको छ, केही दिनमा निर्णय आउला ।’ केन्द्रीय समितिबाट पार्टीको अवस्था र आवश्यकताअनुसार काम गर्न सकिन्छ भनेर मौखिक जानकारी गराए पनि लिखित परिपत्र नभएको उनले बताए ।
गठबन्धन गरेर जानका लागि नेकपा एमालेसँग पनि छलफल चलिरहेको उनले बताए । ‘जिल्ला तहमा नेकपा एमालेसँग कुराकानी भइरहेको छ’, उनले भने, ‘तर हामीलाई मिलेरै जानुपर्छ भन्ने पनि छैन, हामी एक्लै पनि निर्वाचनमा जान सक्छौँ ।’
कुनै दलसँग मिलेर निर्वाचनमा गए भागबन्डामा पर्ने ठाउँमा मात्रै उमेदवारी रहन्छ । तर, नभएको खण्डमा इच्छाकामना गाउँपालिकाका केही वडाबाहेक बाँकी सबै स्थानीय तहमा मेयर, उपमेयरदेखि वडा अध्यक्ष हुँदै सदस्यसम्म सबै पदमा उमेदवारी दर्ता हुने उनले दाबी गरे ।
हाललाई जिल्लाका सबै ९८ वटै वडामा सम्पर्क कार्यालय स्थापना गरेर पार्टीको गतिविधिलाई तीव्र बनाउने प्रयास भइरहेको उनले बताए । ‘यो निर्वाचनलक्षित करिब ७५ वडामा सम्पर्क कार्यालय खोलिसकेका छौँ’, उनले भने, ‘यही वैशाख ९ गतेसम्ममा सबै वडामा सम्पर्क कार्यालय खोलेर प्रचारप्रसार गरिसक्ने भनेर काम गरिरहेका छौँ ।’
संस्थागतरुपमा गठबन्धनमा जाने भनेर पूर्ण तयारीमा नभएको हुँदा आज बिहीबार साँझसम्ममा आधिकारिक उमेदवारको टुङ्गो लाग्ने उनले बताए । सबैको चासोको विषय बनेको भरतपुर महानगरपालिकामा भने मेयर पदका लागि हालसम्म तीन जनाले आकाङ्क्षा देखाएको उनले बताए ।
‘हाम्रो पार्टीका बागमती प्रदेश उपाध्यक्ष ज्ञानुजंग लामा र भरतपुर महानगर अध्यक्ष दीपक थापाले आकाङ्क्षा देखाउनुभएको छ’, उनले भने, ‘पार्टीका केही साथीहरुले मलाई पनि भरतपुरको मेयर बन्नुपर्छ भनेर दबाब दिइरहनुभएको छ, त्यस विषयमा हामी छलफलमै छौँ ।’
राप्रपाले स्थानीय तहको निर्वाचनमा त्यति धेरै अपेक्षा नगरे पनि पार्टीको आधार क्षेत्र मान्दै आएको माडीमा मेयर, उपमेयरसहित अधिकांश वडा जित्न सक्ने क्षमता रहेको दाबी गरेको छ । रत्ननगरका केही वडा र भरतपुरको वडा नं–४, ५ र पश्चिम चितवनका वडाहरुमा पार्टीको उपस्थिति बलियो रहेको प्रचारप्रसार विभाग संयोजक पुरीले दाबी गरे ।
बागमती प्रदेशसभा सदस्य एवं पार्टीका सहमहामन्त्री रीना गुरूङले भने पार्टीको आधिकारिक धारणा सार्वजनिक नभएसम्म स्थानीय तह निर्वाचनको विषयमा नबोल्ने बताइन् ।