काठमााडौः प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरको प्रमुख नेकपा माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आएको बताउनुभएको छ । आज चितवन कांग्रेस सभापति राजेश्वर खनाललाई बालुवाटार बोलाएर सभापति देउवाले सत्तागठबन्धनलाई निरन्तरता दिनुपरेकोले भरतपुरको प्रमुख कांग्रेसले लिन नसक्ने अवस्था आएको बताउनुभएको हो । उहाँले भरतपुर महानगरमा सत्तागठबन्धनले गर्ने निर्णयलाई सहयोग गर्न पनि खनाललाई आग्रह गर्नुभयो ।
‘आज सभापतिसँग बालुवाटारमा कुरा भएको हो, उहाँले भरतपुर माओवादीलाई छाड्नुपर्ने भयो भन्नुभयो,’ सभापति खनालले भन्नुभयो “मैले कांग्रेसबाटै मेयर उठाउनुपर्छ भन्ने साथीहरूको भनाइ छ भन्ने कुरा राखेँ।” ०७४ मा पनि भरतपुरको मेयर कांग्रेसले माओवादीलाई छाडेको थियो। कांग्रेसको समर्थनमा माओवादी नेता रेनु दाहाल भरतपुरको मेयर बन्नुभएको थियो ।
बालुवाटारमा आज भएको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, बागमती कांग्रेस सभापति इन्दबहादुर बानियाँ र चितवन सभापति खनाल सहभागी हुनु भएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर नछाड्ने भए काठमाडौं वा विराटनगर जहाँ भए पनि दिन आग्रह गरेको देउवाले बताउनुभएको थियो । “अन्यत्रभन्दा भरतपुर नै सजिलो हुन्छ भन्ने माओवादीको भनाइ रह्यो,” उहाँले भन्नुभयो “चितवनमा तपाईंहरूले सहयोग गरिदिनुपर्छ।”
चितवन कांग्रेसले यसपालि भरतपुर महानगरमा पार्टीबाटै उम्मेदवार उठाउनुपर्ने बताउँदै आएको थियो। शीर्ष नेताहरूलाई भेटेर पनि चितवन कांग्रेसका नेताहरूले भरतपुर महानगर माओवादीलाई नछाड्न भनेका थिए। सत्तागठबन्धनमा छ महानगरमा भागबन्डा गरेर जाने विषयमा छलफल भइरहेको छ।
कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर लिन प्रस्ताव छ। माओवादीलाई भरतपुर, नेकपा एकीकृत समाजवादीलाई पोखरा र जसपालाई वीरगञ्ज महानगर दिनेबारे छलफल भइरहेको छ। सभापति देउवाले आजै नेविसंघको कार्यक्रममा सत्तागठबन्धनलाई उचित स्थान दिएर चुनावमा जानुपर्ने बताउनुभएको छ ।






